इटहरीः इटहरीलाई भूकम्पीय दृष्टिले सुरक्षित शहर बनाउन भवन निर्माण संहितालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

२१ औ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरोकारवाला पक्षसँग छलफल थालिएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले भवन निर्माण संहिता कार्यावन्यनमा कुनै कसर वाँकी नराखिने बताए । उपमहानगरले विभिन्न सरोकारवाला पक्षहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो करा बताएका हुन् ।

बलियो घर वनाउन भवन निर्माण संहिताको कडाइका साथ पालना हुनुपर्ने मेयर चौधरीको भनाइ थियो । यसका लागि घरधनी, डकर्मी, सिकर्मी, कन्सल्टेन्सी, ठेकेदार सबै पक्षलाई भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको प्राविधिक सहयोगमा उपमहानगरले विभिन्न चरणमा तालिम प्रदान गर्ने उनले जानकारी दिए ।

घरनक्सा नबनाई घर बनाउन नपाइने र जस्तो घर नक्सापास भएको छ त्यस्तै घर बनाउनुपर्ने मेयर चौधरीले बताए । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले भवन निर्माण संहिता कार्यान्वयनका क्रममा भएका कमजोरी हटाएर अब कडाइका साथ कार्यान्वयन हुनेमा उनले जोड दिए ।

भवन निर्माण संहिता प्रभावकारी कार्यावन्यनका लागि उपमहानगरले ३ चरणमा अन्तरक्रिया गरेको थियो । पहिलो चरणमा इन्जिनियर, ओभरसियर र कन्सल्टेन्सीसँग कसरी भवन संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । त्यसपछि भवन निर्माण वयवसायीसँग छलफल गरिएको थियो । व्यवसायीले अनुगमनलाई नियमित र प्रभावकारी बनाउन जोड दिएका थिए ।

तेस्रंो चरणमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा इटहरी उपमहानगरका घर नक्सा फाँट प्रमुख विकास भटटराईले भवनसंहितासम्बन्धी जानकारी गराएका थिए ।