सप्तरीः  सप्तरीको राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुईजना शव फेला परेको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका–५ र ३ नम्बर वडामा दुई जनाको शव फेला परेको हो ।

राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार एक जना पुरुषको शव फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले स्थानीयवासी गुलाब सिंहको धानखेतमा ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् भने मृतकको पहिचान खुल्न नसकेको बताए ।

स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रवक्ता बस्नेतका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन् । शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता बस्नेतले बताएका छन् ।

यसैगरी, राजगाढ गाउँपालिका–३ मा मङ्गलबार एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

उनले यादवको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको बताउनुभयो ।  शङ्कास्पद अवस्थामा भेटिएको यादवको शव परीक्षणका लागि धरान पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।  

यसैबीच सप्तरीमा कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खडक नगरपालिका ९ का मो.अख्तर भन्ने मो। अकतर र छिन्नमस्ता गाउँपालिका ३ का डाँका चोरी मुद्दाका प्रतिवादी सनोज कुमार यादवलाई बुधबार नियन्त्रणमा लिएको हो ।

सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा वारदात पश्चात् फरार रहेका उनीहरूलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको सप्तरीका प्रहरी नायबउपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला अदालत सप्तरी राजविराजले कर्तव्य ज्यान मुद्दामा मो। अकतरलाई एक वर्ष कैद सजाय र डाँका चोरी मुद्दामा यादवलाई एक वर्ष ए महिना कैद र एक हजार रुपियाँ जरिवाना तोकेपछि उनीहरू फरार रहेका थिए ।  

पक्राउ परेका दुबैजनालाई  बुधबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।