काठमाडौंः नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासमा दुईवटा ‘क’ वर्गका वाणिज्य बैंकलाई कारबाही गरेको छ । यससँगै गत आवमा १० बैंक कारबाहीमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्नका लागि दिएका निर्देशनहरू पालना नगरेको पाइएपछि बैंकका सञ्चालक, अध्यक्षसहित प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गत आवको चौथो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल र एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो ।
आव २०८१–८२ का चारवटै त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक इन्टरनेसनललगायतलाई विभिन्न नियमको पालना नगरेको वा त्रुटिपूर्ण अभ्यास गरेको पाइएपछि कारबाही गरेको हो ।
यसकारण कारबाहीमा परे बैंक
बैंकहरूले गरेका उल्लंघनहरूमा अनिवार्य नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात, तोकिएको क्षेत्रमा ऋण प्रवाहको अभाव, ब्याजदर अन्तरको गलत गणना र ऋण वर्गीकरण तथा नोक्सान व्यवस्थामा देखिएका कमजोरीहरूका आधारमा कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरूले कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्थापन र जोखिम भारित सम्पत्ति गणनासम्बन्धी नियामक निर्देशनहरूको पालना नगरेको पाइएको छ ।
सिटिजन्स बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको लगायत छन् ।
सिटिजन फास्ट ट्र्याक लोनअन्तर्गत कर्जाको उपयोगका सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न दिइएको निर्देशनको पालना नगरेपछि सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
म्याद बढाइएका कर्जाहरूमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, चालू पुँजीसम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ गरेकाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसैगरी, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने ब्याजदर, किस्तासम्बन्धी व्यवस्थालगायतका व्यवस्थाबमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआईसी एसिया बैंक लिमिटेडलाई चौथो त्रैमासमा सचेत गराइएको छ ।
एनआईसी एसिया बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजी कोष तथा जोखिम भारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवं संस्थागत सुशासनसम्बन्धी केही निर्देशनको पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले दोस्रो त्रैमासमा पनि कारबाही गरेको थियो ।
सञ्चालक, निजहरूका परिवारका सदस्य एवं सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएपछि एनआईसी एसियालाई दोस्रो त्रैमासमा अर्को कारबाही गरेको थियो ।
दोस्रो त्रैमासमै कर्जा सापटीको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरूको पालना नगरेकाले हिमालयन बैंकका सीईओलाई सचेत गराइएको थियो ।
केन्द्रीय बैंकले सरकारी स्वामित्वको बैंकलाई पनि गत आवमा कारबाही गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले केही कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, कर्जा असुली अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै तेस्रो त्रैमासमा कारबाही गरेको हो ।
तेस्रो त्रैमासमा कुमारी बैंक पनि कारबाहीमा परेको थियो । सूक्ष्म निगरानी कर्जा तथा निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको, न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएपछि कुमारी बैंकका सीईओलाई सचेत गराइएको थियो ।
तेस्रो त्रैमासमा कारबाहीमा परेको लक्ष्मी सनराइज बैंकले चालू पुँजी प्रकृतिको कर्जाका लागि लामो समय अवधिको आवधिक कर्जा प्रवाह गरेको, मार्जिन प्रकृतिको कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रवाह गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरूलाई समेत बेलुनिङ किस्ता कायम गरी कर्जाको किस्ता कायम नगरेको पाइएको छ ।
आव २०८१–८२ को दोस्रो त्रैमास अर्थात् २०८१ पुस मसान्तसम्मको अवधिमा सिद्धार्थ बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै कारबाही गरेको थियो ।
बैंक र सीईओबीच भएको सम्झौताअनुसार रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीबीच आपसी समन्वय गर्न, गराउन नसकेको देखिएकाले नेपाल बैंकका सीईओलाई तेस्रो त्रैमासमा सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले ‘आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहीे पद र नाम दुरुपयोग गरेको पाइएपछि नगद ५ लाख जरिमाना गरिएको थियो ।
लक्ष्मी सनराइज बैंकले तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग)को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनहरूको पालना नगरेकाले सीईओलाई नसिहत दिइएको थियो ।
प्राथमिकताका क्षेत्रमै दिदैनन् बैंकले ऋण
सरकारले प्राथमिकतामा राखेका कृषि, ऊर्जा, लघु तथा साना र मझौला उद्यमजस्ता क्षेत्रहरूमा अपेक्षित कर्जा प्रवाह नगरेको पनि पाइएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले आव २०८१–८२ को दोस्रो त्रैमाससम्मको अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि कारबाहीको भागिदार बन्नुपरेको थियो ।
केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिमाना गराएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।