खोटाङः खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा प्रजातान्त्रिक योद्दा रामप्रसाद राईको नाममा स्मृतिपार्क निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको छ । रामप्रसाद राई स्मृतिपार्क निर्माणका लागि इन्द्रबहादुर राईको अध्यक्षतामा ७ सदस्यीय स्मृतिपार्क तथा टुँडिखेल संरचना निर्माण समिति गठन गरिएको हो ।
स्मृतिपार्क निर्माणका लागि प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ को पहलमा १ नम्बर प्रदेशले २० लाख र खोटेहाङ गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
तत्कालीन राणाकालमा सेनाको लेफ्टिनेन्ट रहेका राईको नेतृत्वमा खोटाङ बजारमा निर्माण गरिएको टुँडिखेल तथा २००५ सालमा रोपेको समीको रुख संरक्षण गर्न शालिकसहितको स्मृतिपार्क निर्माणको काम अघि बढाइएको जनाइएको छ ।