काठमाडौंः छुर्पी निर्यात हालसम्मकै उच्च रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५१ करोड रुपियाँ बराबरको २६ लाख एक हजार किलो छुर्पी निर्यात भएको छ । यो निर्यातले आव २०७९/८० को १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको हो । आव २०८०/८१ मा तीन अर्ब १८ करोड रुपियाँ बराबरको १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएको थियो ।
विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब ९६ करोड, आव २०७८/७९ मा दुई अर्ब ९१ करोड, आव २०७९/८० मा तीन अर्ब ४० करोड रुपियाँ बराबरको छुर्पी निर्यात भएको थियो ।विभागका अनुसार आव २०८१/८२ मा २५ देशमा नेपालको छुर्पी पुगेको छ । अमेरिका, क्यानडा जापान र कोरियामा सबैभन्दा धेरै छुर्पी जाने गरेको छ ।
सरकारले छुर्पी निर्यातमा दिइएको भन्सार छुट र खोरेत रोगको जोनिङ र कम्पार्टमेन्टलाइजेसनको कार्यान्वयन भएपछि युरोपेली देशमा निर्यातको वातावरण बनेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले जानकारी दिए।
नेपालको छुर्पी कुकुर र बिरालोको खानाका रूपमा ‘डग च्यु’ निर्यात हुने गरेको छ । ‘डग च्यु’ एक प्रकारको छुर्पी नै रहेको शाहीले उल्लेख गरे । मानिसले खाने छुर्पीभन्दा ‘डग च्यु’ मा चिल्लोको मात्रा शून्य हुने गर्दछ । मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा पनि हुन्छ । निकासी हुने छुर्पी बनाउँदा दुधलाई फटाएर विभिन्न प्रक्रिया पूरा गर्दै बनाइने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले उल्लेख गरे।
दुध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौँ वस्तुले किचेर राख्नु पर्छ । त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउँमा राख्नु पर्छ र क्रमशः तातोमा सार्दै लानु पर्छ । छुर्पी बनाउने प्रक्रियापछि त्यसलाई सुकाउन धुवाँ लगाउनु पर्छ । धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताए । इलाम, पाँचथर, ताप्लेजुङमा त्यसरी नै छुर्पी बनाउने गरिएको छ ।
इलामका व्यवसायी हरि गुरुङले धुवाँ लागेको छुर्पी कुकरले बढी मन पराउने र एक महिना लगाएर छुर्पी सुकाइने र छुर्पी सुकेपछि सङ्कलनकर्तामार्फत राजधानीका फर्महरूलाई बिक्री गरिने र विदेश निर्यात गरिने उल्लेख गरे।
छुर्पीको उत्पादन र निर्यातमा आबद्ध निजी क्षेत्र भने तथ्याङ्कमा देखिए बराबर नै छुर्पी अनौपचारिक माध्यमबाट निर्यात हुने गरेको दाबी गर्छ । विदेशमा निर्यात गर्ने गरी स्थापित छुर्पी उद्योग भने इलाम र पाँचथरलगायतका क्षेत्रमा छन् ।
गुरुङले तथ्याङ्कमा देखिए जति नै छुर्पी अनौपचारिक माध्यमबाट विदेश जाने गरेको उल्लेख गरे । “नेपालमा उत्पादित छुर्पी अनौपचारिक माध्यमबाट भारत जान्छ र भारतमा उत्पादित भन्दै विदेश निर्यात हुन्छ,” गुरुङले उल्लेख गरे । नेपालका कुल दुध उत्पादनको १६ प्रतिशत छुर्पी बनाउने कार्यमा प्रयोग हुँदै आएको तथ्याङ्क रहेको नेपाल पशु चिकित्सा परिषद्ले उल्लेख गरेको छ ।