सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सोलु फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालले जनाएको छ । कैलाश हेलिकप्टरमार्फत् उनको उद्धार गरिएको चिकित्सक शेर्पाले बताए ।

आर्थिक अवस्था कमजोर भएका र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्थाअनुरूप उनको उद्धार गरिएको बताइएको छ । शल्यक्रियापछि अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । योसँगै २ महिनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको बताइएको छ ।

पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीति लिएको छ ।