इटहरीः लामो समयदेखि विवादित सुनसरी जिल्ला कार्यसमितिले अझैसम्म पूर्णता पाउन सकेको छैन । माउ पार्टी नेपाली काङ्ग्रेसका नेताहरूमा आफूअनुकूल नेतृत्व पार्ने क्रममा विवाद बढेको नेवि सङ्घका नेता बताउँछन् ।
नेवि सङ्घ केन्द्रीय कार्यसमितिदेखि नै विवादित छ । त्यसको प्रत्यक्ष प्रभाव जिल्ला र क्षेत्रीय समितिमा पनि परिरहेको छ । विवादित जिल्लाको अधिवेशन हुन नसकेर नेवि सङ्घभित्र गुटगत प्रभाव गाढा बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरण हो सुनसरी जिल्लाको नेवि सङ्घ कार्यसमिति ।
२०७१ जेठ मसान्तमा १ वर्षको कार्यकाल रहने गरी सुनिल साह सभापति भएसँगै नेवि सङ्घ सुनसरी थप विवादित बन्यो । अधिवेशन उद्घाटन भएको २ महिनामा बल्लतल्ल कार्यसमितिले पूर्णता पायो । एक वर्षपछि चन्द्रसुन्दर खेवाङ स्वतः सभापति हुने सहमति भयो । साहले नेतृत्व छाड्न चाहेनन् । तर खेवाङले सभापतिको हैसियतमा विभिन्न कार्यक्रम अयोजना गर्दै गए ।
नेवि सङ्घ सुनसरीको विवाद त्यही कार्यसमितिबाट चर्कियो । केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि खेवाङ केन्द्रीय सदस्यमा निर्वाचित भए भने साह निस्क्रिय रहे ।
२०७४ मंसीरमा पार्टी जिल्ला सभापति राजीव कोइराला, सचिव केदार भण्डारी र नेवि सङ्घ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक विकास केसीसहितका नेताहरूको सहमतिमा मन्दीप भट्टराईको नेतृत्वमा एक समिति गठन भयो । सो समितिले २०७४ फागुनभित्र क्याम्पस, क्षेत्र र जिल्ला अधिवेशन गराउनुपर्ने भनी निर्णय भयो ।
समितिले क्याम्सको मात्र अधिवेशन गरायो । तर क्षेत्रीय समिति र सिङ्गो जिल्ला समिति अझै विवादकै घेरामा रहेको छ । पार्टी जिल्ला सभापति कोइराला र प्रदेश संयोजक केसीले पुनः ०७५ वैशाख ६ सम्ममा अधिवेशन गराउन पाउने गरी उक्त समितिलाई अख्तियारी दिए । तर वैशाख ६ गते पनि अधिवेशन हुन सकेन ।
त्यसपछि अधिवेशन हुन नसक्नुमा विजयकुमार गच्छदारको निर्णाय बाधक भएको तर्क शुरु भयो । पार्टी सभापति कोइराला गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक विद्यार्थी सङ्घलाई समेट्न आफूलाई दबाब आएका कारण अन्योलमा परेको तर्क गर्न थाले । त्यतिमात्र होइन कोइरालाले भट्टराईको नेतृत्व कामचलाउ भएको भन्नसमेत भ्याए ।
त्यही समय नेवि सङ्घ केन्द्रीय महामन्त्री कुन्दन काफ्लेले सुनसरीमा आफ्नो सक्रियता देखाए । उनले पुनः अर्को समिति गठन गर्ने धम्की दिइरहे । तर सफल हुन सकेनन् ।
पार्टी सभापति कोइराला शक्तिकेन्द्र बनेर बारम्बार छलफल राख्ने गर्छन् । तर हालसम्म निकास निक्लन सकेको छैन । केन्द्रीय उपसभापति तथा प्रदेश संयोजक विकास केसीको जिल्ला आफैँमा विवादित बन्दै गएको छ । उनी पनि आफ्नो पहुँचभन्दा बाहिर सुनसरीको नेवि सङ्घ नेतृत्व नजाओस् भन्ने ध्याउन्नमा छन् । संस्थापन पक्षका बलिया नेताको रूपमा चिनिएका केसी आगामी पार्टीको नेतृत्वमा स्थापित हुनलाई पनि नेवि सङ्घ आफूअनुकूलको बनाउन चाहन्छन् ।
त्यस्तै, पार्टी सभापति कोइराला सबैसँग समदुरीको सम्बन्ध टिकाउने दाउमा छन् । जसका लागि केसीसहित अन्य नेताहरूसँग उनी बराबर सम्बन्ध कायम गरिरहेका छन् । सुुनसरी काङ्ग्रेसमा सर्वमान्य बन्नको लागि उनी कसैको पक्षमा खुलेर लागेका छैनन् । यसले गर्दा उनको हरेक निर्णय भ्रामक देखिन्छ ।
एकातिर केसीले नेतृत्व गरिरहेको टिम आगामी नेतृत्वको लागि तयार देखिन्छ भने नेवि सङ्घ पूर्व केन्द्रीय सदस्य सूर्य राईले अर्को पक्षको जबरजस्त नेतृत्व गरिरहेका छन् । सभापति कोइराला भने केसी र राई दुवैसँग लाइन मिलाउन व्यस्त देखिन्छन् ।
उता, विजयकुमार गच्छदार नेपाली काङ्ग्रेसमा फर्किएपछि उनको निकट को बन्ने भन्ने होडबाजी चलिरहेको छ । त्यसै क्रममा राईले गच्छदारलाई घरैमा बोलाएर कार्यकर्ता भेटघाट समेत गराए ।
बीचमा विभिन्न काण्डमा मुछिएर भर्खरै सर्वोच्चबाट सफाइ पाएका राई पार्टीभित्र आफ्नो हैसियत बनाउन लागिपरेका छन् । जसको लागि उनी पार्टी सभापतिलाई आफूहरू संस्थापन पक्षीय भएकाले त्यही लाइनमा प्रतिबद्ध हुन प्रेरित गरिरहेका छन् । गच्छदार संस्थापन पक्षीय नेता भएकाले केसी आफूलाई गच्छदारको निकटको रूपमा प्रस्तुत गर्छन् ।
सभापति कोइराला पनि राईलाई चिढ्याएर भन्दा साथमै लिएर अगाडि बढ्न चाहन्छन् । हरेक छलफलमा उनी राईको भनाइ पनि सुन्नुपर्ने धारणा राख्ने गर्छन् । त्यससँगै उनी हालको संस्थापनको समर्थनमा लागिएन भने समस्या हुने बुझेरै त्यसतर्फ पनि लाइन मिलाउन व्यस्त देखिन्छन् ।
पार्टी केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र सुनसरी भएकाले उनको निकट बन्नेहरू पनि सक्रिय छन् । उनी आफैँ नेवि सङ्घको पूर्व केन्द्रीय अध्यक्ष भएकाले उनको आफ्नै चासो देखिन्छ नेवि सङ्घमा । तथापी उनी खुलेर हस्तक्षेप गर्ने ध्याउन्नमा देखिँदैनन् ।
विद्यार्थी सङ्गठनको आफ्नै विवाद र कार्यक्रम भए पनि पार्टीको आदेशबिना केही पनि कार्यसम्पादन हुन सकेको पाइँदैन । कुनै पनि कार्यक्रम र योजना पार्टीकै निर्देशनमा चल्ने गरेका छन् । जुन सुनसरी नेवि सङ्घमा प्रत्यक्ष देख्न सकिन्छ ।
हाल नेतृत्वमा रहेका भट्टराई आफैँ सर्वसम्मत नेता हुने दाउमा छन् । तर उनको दाउ असफल भइसकेको छ । केसीनिकट मानिएका उनी पार्टीको निर्देशनबिना एक कदम पनि अगाडि बढ्न सकेका छैनन् । तथापि उनी पार्टी सभापति कोइरालालगायत नेतृत्वको अनावश्यक हस्तक्षेपले समस्या भएको बताउँछन् ।
पार्टीभित्र सिण्डिकेट हाबी भएकाले त्यही सिण्डिकेटअनुसार पार्टी सञ्चालन भइरहेको उनको तर्क छ ।
तर संस्थापन इतर पक्षीय नेताहरू भने भट्टराईको नेतृत्व असफल भएको बताउँछन् । यो समिति भङ्ग गरेर नयाँ तदर्थ समिति गठन गरी अधिवेशन गराइनुपर्ने उनीहरूको तर्क छ ।
यसरी नै नेवि सङ्घ सुनसरीको विवाद पनि दैनिक रूपमा चर्कँदै गइरहेको छ । जसका कारण पार्टी नेतृत्वको विचार र हालको नेवि सङ्घ नेतृत्वकै दोष रहेको नेवि सङ्घका नेताहरूको बुझाइ छ ।