इटहरीः निजी प्रयोजका लागि बनाउन शुरु गरिएको बाटोमा इटहरी उपमहानगरपालिकाको डोजर र ट्रिफर लगाइएको पाइएको छ ।
नयाँ ठाउँबाट बाटो लानका लागि लाभान्वित ३ जना मिलेर व्यक्तिगत रूपमा पैसा उठाई काम शुरु गराइएको इटहरी–३ को पारिजात मार्गमा इटहरी–३ वडाध्यक्ष बालकृष्ण बिष्टले उपमहानगरको ट्रिफर र डोजर लगाएको पाइएको हो ।

इटहरी–३ तालतलैया मार्गमा ४० वर्ष अगाडिदेखि प्रयोग भइरहेको बाटो केही महिना अघि नाप्ने क्रममा काठमाडांै बस्ने भूमा राईको जग्गाभित्र परेको थियो । पुरानो बाटो भत्काएर राईले आफ्नो जग्गा अनुकूल हुनेगरी अगाडिको भागबाट बाटो बनाउने प्रक्रिया शुरु गरिन् । पछि राईले जग्गा र रकमसमेत आफैँ उठाई बाटो सार्ने सहमति अन्य प्रभावितसँग गरिन् ।

सहमतिअनुसार रकम समेत उठाएर वडाध्यक्ष बालकृष्ण बिष्ट र वडासदस्य सूर्यबहादुर थापालाई कागजसमेत गराई बाटो हस्तान्तरण लाभान्वित जनताले गरेका थिए । तर व्यक्तिगत रूपमा पैसा नै उठाएर वडाध्यक्ष बिष्ट र अन्य वडासदस्यलाई रकम दिँदा समेत उपमहानगरपालिकाको डोजर र ट्रिफर निःशुल्क रूपमा प्रयोग गरी दुरुपयोग भएको हो ।

वडाध्यक्ष बिष्टले प्रत्यक्ष लाभान्वित स्थानीयसँग लागतको पूर्ण रकम लिएका थिए । उपमहानगरको ट्रिफरबाट निःशुल्क गिटी हालेका थिए । स्थानीयले पटकपटक पैसा भएर पनि उपमहानगरको साधन प्रयोग गरेको विषयमा विरोध पनि गरेका थिए । तर अटेर गर्दै बिष्टलगायत अन्य वडासदस्यले सरकारी साधन र ढुङ्गा माटो प्रयोग गरेका हुन् ।

यता, वडाध्यक्ष बिष्ट भने सरकारी गाडीको प्रयोग गरेको मान्न तयार छैनन् । ‘हामीले भाडामा डोजर नै लिएर काम लगाएका छौँ गिटी पनि निजी क्षेत्रबाटै किनेर ल्याएका हौँ,’ बिष्ट भन्छन्, ‘मलाई निरन्तर फसाउन खोजिँदै छ त्यसैले फिल्डमा गएर सत्य समाचार लिनु होला ।’

तर वडाध्यक्ष बिष्टले भनेको ठीक उल्टो गत सोमबार नै उपमहानगपालिकाको डोजरले सो बाटोको काम गर्दै गरेको थियो । डोजरका चालकले पनि वडा कार्यालयका मान्छेले नै भनेको आधारमा आफूले बाटो बनाउन आएको बताएका थिए । (सो बाटो बनाउँदै गरेको भिडियो सुरक्षित छ ।)

‘धेरै पहिल्यैदेखि हिँडेको बाटो हो यो । तर एकाएक सारिँदै छ । वर्षाैंदेखि हिँड्दै गरेको बाटो सर्दा पनि सबैलाई थाहा छैन’, स्थानीय युवा मनोज रायाले भने, ’मैले सुनेअनुसार जजसको जग्गा परेको छ त्यहीँकै मान्छेहरूले सार्ने सहमति गरेका रहेछन् । तर सबै लगानी निजी रूपमै हुनेगरी सहमति भई रकम भने लुकाएर वडाध्यक्षले नगरपालिकाको साधन प्रयोग गर्नु सरासर अधिकारको दुरुपयोग हो ।’

निजी काममा समेत उपमहानगरपालिकाको ट्रिफर प्रयोग भएको पहिलो जानकारी समेत यही बाटोमा गिटी हालेपछि थाहा पाएर उपमेयरले अनुगमन शुरु गरेको स्रोतले बतायो । सोमबार उपमेयर लक्ष्मी गौतम नगरपालिकाले ठेक्का नलगाएको खोलामा ट्रिफर अनुगमन गर्न जाने क्रममा वडाध्यक्ष बिष्टले उपमेयरलाई धम्की दिएको अडियोसमेत बाहिरिएको थियो ।

उपमेयर गौतमले निःशुल्क रूपमा उपमहानगरले प्रयोग गर्ने ढुङ्गा गिटीको उपयोग निजी रूपमा गर्न नदिने बताइन् । कार्यपालिकाले नै मर्मत सम्भारको लागि ठेक्का नलगाई बुढी खोलाको खोलाजन्य पदार्र्थ छुट्याएको हो । खोलाजन्य सामग्री अभाव हुँदा प्रयोग गर्ने गरी कार्यपालिकाको निर्णय अनुसार बुढीखोलाको सो क्षेत्रमा ठेक्का लगाइएको छैन ।

wadadakshyako anukulma dosjer itahari 3 (1)