इलामः ९ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको अनसनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायधीश सुशीला कार्कीसहितका नागरिक अगुवा इलाम आउँदैछन् ।
टोलीमा कार्कीसहित पूर्व सभामुख दमननाथ ढुङ्गाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा अभिषेक सिंह रहेका छन् । उनीहरूले अनसनस्थल पुगेर ऐक्यबद्धता जनाउने, डा. केसीको स्वास्थ्य अवस्था बुझ्नेलगायतका कार्यक्रम रहेको सिंहले जानकारी दिए ।
यसअघि कार्कीसहितका अगुवाले विज्ञप्ति मार्फत् सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । हिजो नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीको स्वास्थ्य अवस्था परीक्षण गरी सुविधासम्पन्न आईसियु, सिसियु भएको अस्पतालमा सार्न सुझाव दिएको थियो । तर डा. केसीले अन्यत्र सर्न मानेका छैनन् ।