इटहरी: नेकपा माओवादी केन्द्रबाट रातारात नेकपा एमालेमा गई इटहरी वडा नम्बर १७ मा निर्वाचित भएका वडाध्यक्ष प्रभातकुमार आर्चायले अनधिकृत रूपमा सम्मानित उच्च अदालतको निर्णय आदेश विपरीत कानुनको धज्जी उडाउने काम गरेका छन् । वडाध्यक्ष आचार्यले उच्च अदालत विराटनगर आदेशको अवहेलना समेत गरेका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर १७ मै रहेको पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झालाई कानुन अनुसार विद्यालयको काम गर्न दिनका लागि २०८१ फागुन २१ गते पकली माविका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । 
उच्चको तत्कालीन आदेशपछि केही महिना झाले व्यवस्थापन समितिको कामकाज गरे तापनि वडाध्यक्ष आर्चायले २०८२ श्रावण २३ गते पत्राचार गरी शिक्षा ऐन र नियमावलीले कल्पना नै नगरेको वडा शिक्षा समितिले झालाई काम गर्न रोक लगाएको हो ।
उच्च अदालत विराटनगरको इजलास नम्बर ६ का न्यायाधिशद्धय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झालाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म कानुन अनुसार नै काम गर्न दिन परमादेश जारी भएको हो । 
परमादेशमा झालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले नियमानुसार विद्यालयका कामकाज गर्नु हुन इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय इटहरी सुनसरीको  २०८१ फागुन १ गते को पत्रबाट पत्राचार गरिएको देखिएको सन्दर्भमा निवेदनमा उठाएको विषयमा प्रस्तुत निवेदनमा अन्तिम रूपमा निरूपण हुँदा सम्बोधन हुने नै हुँदा तत्काल निवेदकको माग बमोजिम मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । कानुन बमोजिम गर्नु भन्ने उल्लेख गरिएको थियो । 
WhatsApp Image 2025-08-24 at 12.37.31_56dfdabd
वडाध्यक्ष आर्चायले अदालतले परमादेशमा उल्लेख गरिएका कुरा कानुन अनुसार कार्यान्वयन गर्नु त कता हो कता झालाई विद्यालयको कामकाज गर्न अनेकन् बहना बनाई नदिएको बुझिएको छ । उच्चले जारी गरेको परमादेशको ठिक ५ महिनापछि वडाध्यक्ष आर्चायले उच्चको अवहेलना गर्दै वडा सदस्य काशिम मियाँलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको अवस्थामा २०८२ श्रावण २३ गते निर्देशन पत्र विद्यालय व्यवस्थापन समितिको नाममा पठाई व्यवस्थापन समितिका अध्यक्ष झाका विषयमा विभिन्न विषय उठेकाले कुनै पनि बैठकमा उपस्थित गराई कुनै पनि खालको निर्णय नगराउनु भन्ने आदेश दिएका छन् । 
झालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हैसियतले काम गर्नका लागि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाले २०८१ फागुन १ गते पकली मावि विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । झामाथि केही शिक्षकहरूले लगाएको आरोपमाथि छानबिन गरेर नै उनलाई कानुन अनुसार कामकाज गर्न इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले निर्देशन सहित पत्राचार गरेको थियो ।
WhatsApp Image 2025-08-24 at 13.12.47_778ca45a
इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाले झालाई कामकाज गर्न दिनु भन्ने निर्देशन सहितको पत्र पठाए लगत्तै २०८१ फागुन २९ गते पूर्व वडाध्यक्ष भगवानलाल साह(सुडी)का छोरा चन्दन कुमार साह(सुडी)ले विद्यालय व्यवस्थापन समिति र व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार झाका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेशका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । 
झालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले काम गर्न दिनु भन्ने उच्च अदालत विराटनगरको परमादेश र इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाले निर्णय गरी कामकाज गर्न दिने निर्देशन सहितको पत्रलाई धोती लगाएर वडाध्यक्ष आर्चायले वडा शिक्षा समितिको निर्णय भन्दै झालाई कुनै कामकाज गर्न नदिने वडा सदस्य काशिम मियाँलाई कार्यवाहक वडाध्यक्ष दिएकै समयमा निर्देशन पत्र पठाई कानुनको धज्जी उडाएका छन् । 
इटहरी उपमहानगरपालिकाको शिक्षा ऐन २०७९ को दफा २८ (ख)को उपदफा २ (ग) अनुसार विद्यालय व्यवस्थापन समितिको कुनै पनि बैठक झाको अध्यक्षतामा बसी निर्णय नगर्नु नगराउनु भनी वडा शिक्षा समितिले निर्णय गरेकाले सोही अनुसार गर्नु भन्ने ब्यहोराको निर्देशन सहितको पत्र २०८२ श्रावण २३ गते वडाध्यक्ष आर्चायले विद्यालय व्यवस्थापनका नाममा पठाएका छन् । सो पत्रको चलानी नम्बर ४१९ हो ।
WhatsApp Image 2025-08-24 at 09.01.48_70ce0d42 1
नगर शिक्षा समितिको सदस्य रहेका निजी विद्यालय सञ्चालक नारायणकुमार सन्जेल समेत सदस्य रहेको वडा शिक्षा समितिले झालाई कामकाज गर्न नदिन निर्देशन सहितको पत्र पठाएपछि झाले पटक पटक विद्यालय व्यवस्थापन समितिको बैठक राख्न माग सहित इटहरी उपमहानगरपालिका र पकली माविका निमित्त प्रधानाध्यापकलाई निवेदन दिएका छन् । तर,हालसम्म कुनै खालको सुनुवाइ नभएको पाइएको छ । 
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि झाले विद्यालयको भौतिक अवस्था मात्र नभई पठनपाठनमा निकै सुधार ल्याएका थिए । सुविधा सम्पन्न विज्ञान प्रयोगशालाको स्थापनादेखि व्यवस्थित भवन निर्माण,विद्यार्थीहरूको सुविधाका लागि भारतीय दूतावासबाट एक थान बसको व्यवस्था र अङ्ग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गरेका थिए । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएसँगै निजी विद्यालयका करिब ३१० जना विद्यार्थी एकै शैक्षिक सत्रमा पकली माविमा अध्ययनका लागि भर्ना भएका थिए । पकली माविको पठनपाठन देखि भौतिक सुविधा बढेपछि बर्सेनि विद्यार्थीहरूको आकर्षण बढ्न थालेपछि झा प्रति निजी विद्यालयका सञ्चालकहरू रिसले चुर भएका थिए । झालाई हटाउन अनेकन् प्रपञ्च रचिएको थियो । निजी विद्यालयका केही सञ्चालक र असन्तुष्ट केही शिक्षकहरूको साँठगाँठमा उनलाई शिक्षक सरुवा पैसा मागेको भन्ने अडियो सार्वजनिक गरी झाको हुर्मत लिने काम सहित जिम्मेवारीबाट हटाउने काम गरिएको थियो । सो अडिओका विषयमा झाले यसअघि नै प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारिसकेका छन् । आवश्यक प्रमाणका आधारमा इटहरी उपमहानगरपालिकाले छानबिन गरेरै झालाई व्यवस्थापन समितिको हैसियतले कामकाज गर्न फुकुवा गरिदिएको थियो ।
पुनः झा आएमा विद्यालयको शैक्षिक मात्र नभई भौतिक लगायत अन्य सुविधामा सुधार गर्ने जस कारण यसको प्रत्यक्ष मार निजी विद्यालयलाई पर्ने भएपछि वडाध्यक्ष आर्चायले निजी विद्यालयका सञ्चालकहरूसँग साँठगाँठ गरी उच्च अदालतको परमादेश अस्वीकार गर्ने सम्मको हिम्मत गरेको बुझिएको छ ।
वडाध्यक्ष आर्चायले उच्च अदालतको परमादेश अस्वीकार गरेको चाल पाएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले फोन गरेर ठिक काम नगरेको भन्दै वडाध्यक्ष आर्चायको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले दाबी गरेको छ । 
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ मा वडा तहमा शिक्षा समिति बनाउने कल्पना नै नगरेको इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रमेश साहले बताए । ऐन कानुन विपरीत कार्य गर्ने छुट कसैलाई नभएको बताउँदै साहले उच्च अदालतको तत्कालीन देशलाई सबैले सम्मान गर्नु पर्नेमा जोड दिए ।
वडाध्यक्ष आर्चायले उच्च अदालतको आदेश बारे आफूलाई कुनै पनि जानकारी नआएको दाबी गरे । उनले उच्च अदालत र इटहरी उपमहानगरपालिका भन्दा माथि आफू नरहेको बताए । उनले भने ‘उच्च अदालतको तत्कालीन आदेश के भएको हो ? मलाई केही थाहा भएन । थाहा त हुनु पर्छ होला नि ,अनि पो सोही अनुसार काम गर्छु त ।’

वडा सदस्यलाई कार्यवाहक दिँदै समान्तर कामकाज गर्दै आर्चाय
२०७९ सालको स्थानीय निर्वाचनमा १७ नम्बरको वडाध्यक्ष भई आएदेखि नै वडाध्यक्ष प्रभातकुमार आर्चायको कार्यशैलीप्रति नगरपालिको सिङ्गो टिम ,उनलाई टिकट दिने पाटी नेकपा एमाले र वडावासीहरू त्यति सन्तुष्ट छैनन् ।
पाँच बर्से कार्यकालमा उनले पूरा गरेको ३ बर्से कार्यकालको पछिल्लो करिब २ बर्षजति वडासदस्यहरुलाई नै पटक पटक कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको देखिन्छ । उनले पटक पटक गरी धेरै समय वडा सदस्य काशिम मियाँलाई कार्यवाहकको जिम्मेवारी दिएको वडा कार्यालयको रेकर्डमा देखिन्छ । त्यसैसरि अर्का वडा सदस्य श्याम चौधरीलाई पनि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको देखिन्छ ।
जुन जुन समयमा आर्चायले वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका छन् ,सोही समयमा एकै मितिमा उनले पनि वडावासीको निवेदन,सिफारिस लगायतका आवश्यक पत्रहरूमा हस्ताक्षर गरेका छन् । आर्चायले आफ्नो नैतिकता भुलेर कानुनलाई समेत व्यवस्था गरी कार्यवाहक दिएकै अवस्थामा आफूले पनि काम गरेको पाइएको हो ।
WhatsApp Image 2025-08-24 at 12.37.31_6c3a512c
उनले किन कति कारण पटक पटक त्यसरी वडा सदस्यलाई कार्यवाहक दिएर सोही मितिमा फेरी आफुपनि कार्यालय उपस्थित कामकाज गर्दछन् भन्ने विषयमा अनेक खालका शङ्का आशङ्का उब्जिएका छन् । 
वडाध्यक्ष आर्चायले आफूले वडा सदस्यलाई कार्यवाहक वडाध्यक्ष दिएर एकै मितिमा आफूले पनि वडाको कामकाज नगरेको दाबी गरे । उनले भने —‘एउटा व्यक्तिका लागि नेताहरूले पार्टी सक्न खोज्छन् भने मैले गर्ने के ? मलाई बदनाम गराउन हल्ला मात्र फैलाइएको हो । यसमा सत्यता छैन ।’ वडाध्यक्ष आर्चायले यसो भनेता पनि कार्यवाहक वडाध्यक्ष दिएकै समय एकै मितिमा कामकाज गरेको यथेष्ट प्रमाण प्रदेश पोर्टल डटकमसँग सुरक्षित छन् ।