इटहरी : तपाईँको ई सेवा वालेट वा बैङ्क खाताबाट पैसा ट्रान्सफर गर्दा १० रुपैयाँ अतिरिक्त शुल्क लाग्छ ? यो हटाउन चाहनुहुन्छ ? भन्दै ९७०१२९५१९९ नम्बरबाट पुरुषको आवाजमा सुनसरी दुहवीकी दिपिका राईलाई फोन आयो । सुरुमा फोनको वास्ता नगरेकी दिपिकाले पाँचौँ पटक त्यही नम्बरबाट फोन आएपछि ई सेवा वा बैङ्क खाताको मोबाइल बैकिङबाट पैसा पठाउँदा लाग्ने अतिरिक्त शुल्क हटाउन आफूले सहयोग गर्ने भनेर ति व्यक्तिले दिपिकालाई लोभ्याए ।
आफू ई सेवाकै कर्मचारी भएको भन्दै दिपिकालाई फोन मार्फत ती व्यक्तिले ई सेवा वालेटमा प्रयोग भएको नम्बरको ‘ओटिपी’ कोड मागे । अतिरिक्त शुल्क हट्ने लोभमा दिपिकाले आफ्नो ४ वटा नम्बरको कोड ती फोन गर्ने व्यक्तिलाई टिपाइदिइन । कोड टिपाइदिएको झन्डै डेढ महिनापछि अर्थात् भदौ १३ गते दिपिकाको ई सेवामा २५–२५ हजार गरी ५० हजार रुपैयाँ रकम डिपोजिट भयो । पैसा डिपोजिट भएको केही मिनेट मै त्यो ५० हजार पैसा सिद्धार्थ बैङ्कको सुदन विष्ट नाम गरेको खातामा ट्रान्सफर भयो ।
दिपिकाको ई सेवामा आएको ५० हजार रुपैयाँ रकम भने इटहरी ५ को सेसेहाङ पोलुवा सेकुवा कर्नरको नामको ई सेवा आइडीबाट रकम ट्रान्सफर भएको थियो ।
आफ्नो ई सेवा वालेटबाट अस्वाभाविक ट्रान्जेक्सन भएपछि दिपिका आइतबार इलाका प्रहरी कार्यालय इटहरी आइन । त्यहाँ उनले सेसेहाङ पोलुवा सेकुवा कर्नरका सञ्चालक समेत आफ्नो वालेटबाट यस्तै ट्रान्जेक्सन भएपछि प्रहरी कहाँ निवेदन दिन आएका थिए । तर सेकुवा कर्नरको ई सेवा वालेटबाट भने दुई पटक गरी ७५ हजार रुपैयाँ पैसा गायब भइसकेको थियो । अर्थात्, दिपिका र सेसेहाङ पोलुवा सेकुवा कर्नरको ई सेवा नम्बरको ओटिपी कोड झुक्क्याएर दुवैको एकाउन्ट अज्ञात व्यक्तिले कब्जा गरेको थिए ।

दिपिका र सेकुवा कर्नरका सञ्चालकले सिद्धार्थ बैङ्कको सुदन विष्ट नाम गरेको खाता विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीले भने सिद्धार्थ बैङ्कलाई पत्र लेखी सुदन विष्ट नाम गरेको खाताको केआइसी रिर्पाेट माग गरेको जनाइएको छ । रिर्पाेट आए पश्चात् थप अनुसन्धान हुने जनाइएको छ ।