धनकुटाः प्रदेश नम्बर १ को राजधानीको माग गर्दै धनकुटामा पुन आन्दोन शुरु भएको छ ।

स्थानीयले धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै धनकुटामा आज र्यालीसहित विरोधसभा गरेका छन् । मदन चोकबाट शुरु भएको विरोध ¥याली बजार परिक्रमा गरी मदन चोकमा नै आई कोणसभामा परिणत भएको थियो । र्यालीमा प्रदेश सांसद, नागरिक समाज, बजारवासी, विभिन्न पेशामा आबद्ध पेशाकर्मीलगायतको सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य सङ्घ धनकुटाकी उपाध्यक्ष तारा तितुङले धनकुटालाई राजधानी बनाउनका लागि अब महिला सडकमा आउनुपर्ने बताइन् । जनमोर्चाका जिल्ला अध्यक्ष तुलमान राईले सङ्घीयताको नाममा धनकुटालाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले स्रोत, साधन र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई राजधानी घोषणा नगरिए धनकुटेलीको आन्दोलनले आगोको रूप लिने बताए । धनकुटालाई राजधानी घोषणा नगरिएसम्म राजधानीको लागि आन्दोलन भइरहने उनको भनाइ थियो ।

प्रदेश सांसद आरसी तुम्बाले धनकुटालाई राजधानी बनाउनका लागि आफूले प्रदेश सभामा खबरदारी जारी राख्ने बताए । प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले धनकुटाको अधिकार खोसिएको आजको दिन धनकुटाका लागि कालो दिन भएको बताउँदै राजधानीको मागको आन्दोलन अब निर्णायक हुने उद्घोष गरे ।

राजधानीको माग गदै धनकुटेलीले पटकपटक आन्दोलन गर्दै आएका छन् । गत वर्ष पनि धनकुटामा करिब २ महिनासम्म आन्दोलन चलेको थियो । तर प्रदेश सरकारले तत्काल स्थायी राजधानी नतोक्ने भएपछि गत वर्षको आन्दोलन स्थगित भएको थियो । आन्दोलनका थप कार्यक्रम तय गदै दबाब दिइने संयोजक श्रेष्ठले बताए ।

ऐतिहासिक गौंडाको रूपमा वि.सं. १९४० देखि धनकुटा प्रशासनिक गौंडाको रूपमा रहेको थियो । हाल रहेका ३ सय ९१ वटा सरकारी कार्यालय, ४८ हजार ६ सय रोपनीभन्दा बढी सरकारको नाममा रहेको जग्गा साथै राजधानी बनाउँदा तत्काल भौतिक संरचनामा लाग्ने राज्यको ४ अर्ब रुपैयाँ बराबरको लगानी जोगिने भएकाले मुख्य राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गरिएको श्रेष्ठले उल्लेख गरे ।

andolan 1