झापाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्ने बताएका छन् ।

प्रेस चौतरी र प्रेस सेन्टर झापाले बिहीबार बिर्तामोडमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । ‘डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ,’ भट्टराईले भने, ‘सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।’ डा. केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने नेता भट्टराईले बताए ।

चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनसन तोड्न उनले आग्रह गरे । ‘चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग हो’, २०६९ सालमा पहिलो पटक डा. केसी अनसन बसेको स्मरण गर्दै उनले भने, ‘वि.सं २०७० पुस २७ गतेयता पटक–पटकको अनसनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।’

डा. केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।

‘मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ’, भट्टराईले भने, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।’ काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप थियो ।

नेकपाको पार्टी एकताको प्रसङ्गमा नेता भट्टरार्ईले एकताको प्रक्रिया माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताए । पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिने उनको भनाइ छ ।’