विराटनगरः पछिल्लो समयमा विभिन्न क्षेत्रमा आगलागीका कारणले जनधनको समस्या चुलिएको छ । विलासी गाडी किनेका थुप्रै स्थानीय सरकार प्रमुखका स्थानीय तहमा दमकल छैनन् ।

दमकल नहँुदा समस्यामा छन स्थानीयवासी । यही समस्यालाई मध्यनजर गर्दै प्रदेश १ का सांसद जयराम यादवले दमकल किन्ने निर्णय गरेका छन् । प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत दमकल किन्न लागिएको सांसद यादवले बताए ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ५ (२) का प्रत्यक्ष निर्वाचित सांसद जयराम यादवले जहदा गाउँपालिकामा ६० लाख पर्ने वारुणयन्त्र खरीद गर्ने भएका हुन् । आफूले स्थानीय सरकार र स्थानीयवासीको समस्यालाई मध्यनजर गरेर यस्तो परियोजना ल्याएको यादवले बताए ।

उनले भने, ‘प्रदेश निर्वाचन पूर्वाधार कार्यक्रममा आएको यो बजेटलाई मैले देखिने गरी काम गर्नलाई यस्तो गरेको हो’, यादवले भने, ‘अन्य पनि थुप्रै क्षेत्रमा रकम छुट्याएको छु तर यो मुख्य काम मानेको छु ।’