काठमाडौंः एसईई परीक्षामा सहभागी हुन १४ वर्षको उमेरहद हटाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैत २०७८ मा मन्त्रीस्तरीय निर्णय गरेर २०७८ सालदेखि कक्षा १० को परीक्षा (एसईई)मा १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाउने निर्णय गरेको थियो ।
तर, मन्त्रालयले यो निर्णय गरेको ४ वर्ष बितिसक्दा पनि बोर्डले निर्णय कार्यान्वयन गरेको छैन । शिक्षा ऐन, २०२८ को दफा ४ ‘ज’को उपदफा (१) बमोजिम मन्त्रालयले उमेरहद हटाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । मन्त्रालयको यो निर्देशन ६ चैत २०७८ मै परीक्षा बोर्डमा दर्ता भएको देखिन्छ । तर, बोर्डले अहिलेसम्म यो निर्णय कार्यान्वयन रोकेर राखेको हो ।
एसईई दिने विद्यार्थीलाई उमेरहद लगाएर विद्यार्थीको बोर्डमा गम्भीर खेलबाड गर्दा पनि शिक्षामन्त्री र मन्त्रालय भने मौन छ । विधिको शासन, सुशासन र भ्रष्टाचार अन्त्यको मागसहितको प्रदर्शनको प्रतिनिधिपात्रका रूपमा शिक्षामन्त्री बनेका महावीर पुनले समेत यस विषयमा चासो नदेखाएको पाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय १० कक्षा सानोठिमी भक्तपुरले गत १९ कात्तिकमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) २०८३ मा समावेश हुनका लागि रजिस्टे«सन फाराम खुलाइसकेको छ ।
सूचनामा २०८२ मा रजिस्ट्रेसन फाराम भरी २०८३ को माध्यमिक शिक्षा परीक्षामा समावेश हुनका लागि २०८३ चैत मसान्तमा १४ वर्ष उमेर पूरा गरेको हुनुपर्ने उल्लेख छ । यो सूचनाअनुसार चालू शैक्षिक सत्रमा पनि १४ वर्ष नपुगेका विद्यार्थी एसईईमा सहभागी हुन पाउनेछैनन् ।
पूर्वशिक्षकसमेत रहेका मन्त्री पुन मन्त्री क्वार्टर र सेवा सुविधा नलिई मन्त्रालयमै डेरा सारेर त्यहीँ पकाउने, खाने, बस्ने र सुत्ने गर्दै आएका छन् । तर, २४सै घण्टा मन्त्रालयमा बिताउँदा पनि मन्त्री पुनले कलिला विद्यार्थीमाथि अध्ययनमा वञ्चित गराउनेगरी भइरहेको परीक्षा बोर्डको लापर्बाही र अटेरीपनमाथि एक्सन लिन सकेका छैनन् ।
शिक्षा मन्त्रालयका शाखा अधिकृत गीता शर्माले हस्ताक्षर गरेर बोर्डमा पठाएको पत्र अहिलेसम्म पनि परीक्षा बोर्डले कार्यान्वयन गरेको छैन । राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सहभागी हुन चाहने विद्यार्थीले १४ वर्ष उमेर पार गरेकै हुनुपर्ने व्यवस्थाको सफ्टवेयर नै प्रयोग गरेर काम गरिरहेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।




















