इटहरीः  वैदेशिक रोजगारीको प्रलोभनमा परेर म्याँमा (बर्मा)का अवैध स्क्यामिङ केन्द्रमा काम गर्न बाध्य पारिएका कोशी प्रदेशका १२ सहित ४७ नेपालीलाई बुधबार एकैदिन उद्धार गरेर नेपाल फर्काइएको छ । म्याँमाको म्यावडीमा रहेको विद्रोहीहरूको आश्रयस्थल क्षेत्रमा राखेर नेपालीहरूलाई अनलाइन स्क्यामिङमा जबर्जस्ती लगाउने गरेको उद्धार भएकाहरूले बताएका छन् ।

नेपाली भाषा र हिन्दी भाषा जान्ने भएकाले नेपाल, भारत र पाकिस्तानीलाई स्क्याम गराउन स्क्यामरहरूले नेपालीलाई प्रयोग गर्ने गरेका छन् । अझै पनि म्याँमाको म्यावडीका विभिन्न क्षेत्रमा ५ सयभन्दा नेपाली बन्धक बनाइएको र उनीहरूलाई लोभ, मानसिक यातना र शारीरिक यातना दिएर स्क्याम गर्न बाध्य पार्ने गरेको बताइएको छ ।

युवादेखि महिलासम्म पीडित

बुधबार उद्धार भएका ४७ नेपालीमध्ये ४५ पुरुष र दुई महिला रहेका छन् । उनीहरू मुलुकका २६ वटा फरक–फरक जिल्लाका हुन्, जसमा झापाका पाँच जना, धादिङ, गोरखा, रूपन्देही, सिन्धुपाल्चोक र उदयपुरका तीन–तीन जना तथा दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका दुई–दुई जना छन् । चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक–एक जनाको उद्धार गरिएको छ ।

उमेर समूहमा एक जना १७ वर्षका रहेका छन् भने २० देखि २५ वर्ष उमेरका २६ जना, २६ देखि ३० वर्षका १० जना, ३१ देखि ३५ वर्षका आठ जना, ४० वर्षका एक जना र ४१ वर्षका १ जना रहेका छन् । अधिकांश पीडित कक्षा १२ उत्तीर्ण गरेका वा सूचना–प्रविधिसम्बन्धी अध्ययन गरेका युवा भएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

सिफारिसमार्फत ‘जालो’मा फस्दै

उद्धार भएर फर्किएका युवाहरूले दिएको विवरणमा उनीहरूलाई विभिन्न व्यक्ति, इन्टरनेट गेम खेल्ने साथी, सामाजिक सञ्जालमा भेटिने सम्बन्ध वा विज्ञापनमार्फत ‘आकर्षक तलब’को लालच देखाइएको पाइन्छ । कतिपय भारत वा दुबईमा अध्ययन–कामका क्रममा भेटिएका साथीमार्फत पनि म्याँमा (बर्मा) पुगेको तथ्यांक छ ।

उद्धार भएकामध्ये एक जनाले राजधानीसँग भने, ‘अनलाइन, टेलिग्राम, ह्वाट्सएप वा टिकटकमार्फत ‘काठमाडौंमै बस्ने लाखभन्दा बढी तलब हुने जागिर’को प्रस्ताव आउँथ्यो ।’ त्यसपछि उनीहरूलाई भ्रमणमै हो वा सामान्य अफिस–कलसेन्टर–कम्प्युटर अपरेटरको काम हो भन्दै विभिन्न सिमाना हुँदै म्याँमा (बर्मा)तर्फ लैजाने गरिएको पीडितहरूले बयान दिएका छन् ।

कुनैकुनै भारतमा अध्ययन गर्दाका साथीमार्फत, कुनै दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएका साथीमार्फत समेत म्याँमा पुगेका छन् । ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको यति कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समयपछि भ्रमणका लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिस्ट आदिको काम छ, लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको छ । त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ केन्द्रहरूमा पु¥याएको देखिएको छ ।

कठोर दण्ड, बन्धक र शोषण

स्क्यामिङ केन्द्रमा पुगेपछि पहिला केही दिन उनीहरूलाई सहज वातावरण देखाइन्थ्यो । त्यसपछि ‘टार्गेट’ पूरा गर्न दबाब बढाइने र पूरा गर्न नसके कठोर दण्ड, मनोवैज्ञानिक तथा शारीरिक यातना दिइने गरेको पीडितले बताएका छन् । कतिपयलाई परिवारसँग सम्पर्क बन्द गराई ‘फिरौती’ माग्ने, जेल पठाउने, हत्या गर्ने धम्की दिने, काम छोड्न खोजे अर्को व्यक्तिलाई भर्ना नगरुञ्जेल छोड्न नमिल्ने जस्ता अमानवीय व्यवहार सहनुपरेको अनुभव उनीहरूले सुनाएका छन् ।

म्याँमा बर्मामा विदेशी अलपत्र पीडित फर्काउने उद्देश्यले थाइल्यान्ड सरकारले तयार पारेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’अनुसार नै नेपालीलाई उद्धार गरिएको दूतावासले स्पष्ट पारेको छ ।

यस प्रक्रियाअनुसार बर्माका सुरक्षा अधिकारीले नियन्त्रणमा रहेका विदेशी नागरिकको विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका दूतावासलाई पठाउने गर्छन् । त्यसपछि थाइल्यान्डको परराष्ट्र मन्त्रालय, टाक प्रान्त र माई–सोट अध्यागमनसँग समन्वय गरी स्वदेश फर्काउने तयारी थालिन्छ ।

राहदानी नभएका व्यक्तिलाई दूतावासले एकतर्फी यात्रा अनुमतिपत्र दिएको थियो । थाइल्यान्ड आइपुगेपछि उनीहरूको स्वास्थ्य जाँच, मानव बेचबिखनको सम्भावित जोखिम पहिचान, अध्यागमन प्रक्रिया र आवश्यक स्क्रिनिङ पूरा गरी नेपाल पठाइएको छ ।

विगतमा पनि सयौंको उद्धार

कम्बोडिया, लाओस, थाइल्यान्ड–म्याँमा (बर्मा) सीमा क्षेत्रमा फैलिएको अनलाइन स्क्यामिङ उद्योगले नेपालीसहित धेरै मुलुकका नागरिकलाई खतरामा पारेका घटना पछिल्ला वर्षमा बढेका छन् ।

नेपालले २३ साउन २०८० देखि नै ‘यात्रा सचेतना’ जारी गर्दै यस्ता प्रलोभनमा नपर्न आग्रह गरिरहेको थियो । सोही अवधिदेखि दूतावासले म्याँमा (बर्मा) क्षेत्रबाट आर्थिक वर्ष २०८०–८१ मा ६८ जना, आव २०८१–८२ मा १ सय ५६ जना र चालू आवमा हालसम्म १ सय ४१ जना नेपाली उद्धार गरी स्वदेश पठाइसकेको छ ।

नेपाली दूतावास बैंककले वैदेशिक रोजगारीका नाममा भ्रमणको बहाना बनाई कम्बोडिया, लाओस, थाइल्यान्ड र म्याँमा (बर्मा)जस्ता मुलुकतर्फ नजान सबैलाई पुनः आग्रह गरेको छ ।

दूतावासले सामाजिक सञ्जाल वा परिचितमार्फत आउने आकर्षक जागिरका प्रस्तावको यथार्थता पुष्टि नगरी यात्रा नगर्न र नेपाल सरकारले तोकेअनुसार आधिकारिक श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्नेमा जोड दिएको छ ।