धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर बीपी दासले प्रतिष्ठानमा अध्ययन गर्न आउने विद्यार्थीसँग मोटो रकम माग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।
दास प्रतिष्ठानको उपकुलपति हुँदा विद्यार्थीसँग मोटो रकम माग्ने गरेको तथ्य सार्वजनिक भएको थियो । दासले रकम माग गरेको अडियो रेकर्ड सञ्चारमाध्यममार्फत् सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्रीको सचिवालयले चासो दिएको थियो । अख्तियार स्रोतका अनुसार दासलाई सो अडियोबारे जवाफ दिन पत्र काटिएको छ ।
‘हामीलाई अडियोका अलवा अन्य प्रमाणहरू विद्यार्थीहरूले उपलब्ध गराएका छन् । प्रमाणले अडियोलाई प्रमाणित गर्छ,’ आयोगका एक अनुसन्धान अधिकृतले भने, ‘विद्यार्थीहरूसँग करोडौ रुपैयाँ असुल हुने गरेको पुष्टि हँुदै गइरहेको छ ।’
पूर्व उपकुलपति दासले भने आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउँदै आएका छन् । अख्तियारले अडियोका विषयमा छानबिन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत दास उपकुलपति हँुदाका विद्यार्थीहरूको विवरण मागेको छ । प्रतिष्ठानले यो समाचार तयार पार्दासम्म अख्तियारलाई कुनै जवाफ दिएको छैन ।
पूर्व उपकुलपति तथा प्रतिष्ठानका प्राध्यापक दासले प्रतिष्ठानमा भर्ना हुन चाहने विद्यार्थीसँग प्रतिष्ठानमा बुझाउनुपर्ने शुल्कको अलवा ५० हजार अमेरिकी डलर (लगभग नेपाली ५५ लाख रुपैयाँ) माग गरेको अडियो गत कात्तिकमा बाहिरिएको थियो ।
अडियो रेकर्डमा उनले ४ विद्यार्थीका लागि २० जना विद्यार्थीको व्यवस्था गर्ने समेत उल्लेख गरेका छन् । सञ्चारमाध्यमलाई प्राप्त अडियोमा गरिएको कुराकानी उनी प्रतिष्ठानको उपकुलपतिबाट हटिसकेपछि गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
अडियोमा उनले भनेका छन्, ‘म मात्र छैन । मभन्दा माथि र तल अरु पनि छन् ।’ उनले कुराकानीका क्रममा फोनमा कसैसँग कुरा नगर्न पनि भनेका छन् । दास उपकुलपति हुँदा प्रतिष्ठानमा भएका भ्रष्टाचारका १९ वटा मुद्दा अख्तियारमा छन् । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले तत्कालीन अवस्थामा उपकुलपति रहेका दासले विद्यार्थीसँग रकम मागेको र प्रतिष्ठानमा हुने ठेक्कामा कमिसन लिने गरेको रहस्य खुलेपछि उनलाई २ महिनासम्म अधिकारविहीन बनाएका थिए ।
त्यसैबेला स्वास्थ्य मन्त्रालयमा चिकित्साशास्त्रको विभिन्न तहको परीक्षामा प्रश्न ‘लिक’ गरेको तथा आर्थिक चलखेल गरेको उजुरी परेपछि मन्त्रालयले ‘चिकित्सा शिक्षा जाँचबुझ आयोग’ बनाएर छानबिन गरेको थियो । सन् २०१२ मा भएको एमडिएम परीक्षामा तत्कालीन उपकुलपति प्राडा बीपी दास र तत्कालीन डिन निर्मल बरालले प्रश्नपत्र आउट गरीी लेनदेन गरेको भन्दै उजुरी परेपछि आयोगले छानबिन गरेको थियो ।
यसका साथै आयोगले सन् २०१३ मा तत्कालीन उपकुलपति प्राडा बीपी दासले विदेशी कोटामा पढ्न आउने विद्यार्थीहरूको शुल्क ७१ हजार ५ सय डलरबाट प्रतिष्ठानको नियमविपरीत आफूखुशी घटाएर ६५ हजार डलर बनाएको र सन् २०१६ मा ‘फेक स्पोन्सर’ खडा गरी ३ जना विद्यार्थीलाई भर्ना लिएको विषयमा पनि छानबिन अगाडि बढाएको थियो । सर्वोच्च अदालतका पूर्व न्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग बनेको थियो ।
सन् २०१२ मा भएको एमडी एमएसको परीक्षामा करोडौं आर्थिक लेनदेन गरी प्रश्नपत्र आउट गरिएकोे थियो । त्यसबेला प्रतिष्ठानबाट उत्तीर्ण भएका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलले लिने परीक्षमा फेल भएपछि दासले आर्थिक चलखेल गरेको रहस्य खुलेको थियो ।