काठमाडौँः ओमान सरकारले भिसाविहीन भई अवैध रुपमा बसेका नेपालसहित आप्रवासी श्रमिकलाई दिएको आममाफीको समय ३१ डिसेम्बरमा सकिने भएको छ । मस्कटस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा सकिनै लागेको भन्दै स्वदेश फिर्ती को फर्म भर्न अनुरोध गरेको छ।

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्तीको म्याद यही ३१ डिसेम्बर २०२५ सम्म रहेको दूतावासले जनाएको छ। छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको जनाएको छ । यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ हुनेछ। छुट अवधिमा नेपाल फर्किन चाहने नागरिकहरुलाई मौकाको फाइदा लिन समेत दूतावासले अनुरोध छ।

यस्तो अवसरको फाइदा नलिएको अवस्थामा पछि ठूलो रकम जरिवाना वापत तिर्नु पर्ने, जेल जानु पर्ने, फेरी ओमान भ्रमण गर्न नपाउने, भनेको बखत नेपाल जान नपाउने लगायतका बेफाइदा हुने दूतावासले जनाएको छ। पछिल्लो समय दलालको प्रलोभनमा परी आकर्षक रोजगारी पाउने आशमा भिजिट भिसामार्फत नेपाली महिला त्यहाँ पुगेर उद्धारका लागि हारगुहार गर्दै भिसा बिहिन भएर बस्ने गरेका छन्।

यस्तो छ नेपालीलाई गर फर्किने प्रक्रिया

अनलाइनमा फर्म समिट भएको रोयल ओमान प्रहरी, सार्वजनिक अभियोजन कार्यालय,लेखा परीक्षणको लागि जाने र आवेदन पेश गर्ने। स्वदेश फिर्ता हुनसक्ने लिस्टमा नाम भएका व्यक्तिहरु पासपोर्ट साथैमा भएमा हवाई टिकट लिई उड़ान समय भन्दा ७ घन्टा अगाडी नै विमानस्थलमा रहेको श्रम मन्त्रालयको कार्यालयमा गई आफ्नो कागजात देखाई स्वदेश फिर्ता हुनसक्ने ।

पासपोर्ट साथमा नभएका व्याक्तिहरु स्वदेश फिर्ताहुन सक्ने लिस्टमा नाम आएपछि दूतावासमा आई ट्राभल डकुमेन्ट बनाई टिकट लिई स्वदेश फिर्ताको लागि ७ घन्टा अगाडी नै विमानस्थलमा रहेको श्रम मन्त्रालयको कार्यालयमा गई आफ्नो कागजात देखाई स्वदेश फिर्ता हुनसक्ने ।

यस योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकहरूले स्यवम् वा कोही साथीभाइ वा आफन्त वा दूतावासका स्वयसेवकहरु वा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई उक्त प्रक्रिया गर्न सकिने छ ।यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।