काठमाडौंः सरकारले कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढाउने बताउँदै आए पनि कृषिमा परनिर्भरता बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामै करिब डेढ खर्ब रुपैयाँका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ।


युवाहरू वैदेशिक रोजगारमा जाने क्रममा भएको वृद्धि, खेतबारी बाँझै रहने अवस्था मात्र नभएर कृषिमा आधुनिकीकरण र व्यवसायीकरण नहुँदा पनि कृषि उत्पादनमा वृद्धि हुन नसकेको हो। उत्पादन नबढेपछि नेपाली उपभोक्ताले विदेशबाट कृषिजन्य वस्तु आयात गरेर उपभोग गर्दै आएका छन्।


भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म एक खर्ब ५४ अर्ब रुपैयाँका खाद्यान्न, तरकारी, फलफूल, माछा, मासुलगायत वस्तु विभिन्न मुलुकबाट आयात भएका छन्। यो अवधिमा २२ अर्ब ७२ करोड रुपैयाँको धान, चाम, मकै, गहुँ लगायत खाद्यान्न आयात भएको विभागले जनाएको छ। सरकारले धान उत्पादन बढाउन विभिन्न पकेट क्षेत्र घोषणा गरे पनि विदेशबाट आयात भइरहेका छन्।


नेपाली उपभोक्ताको भान्सामा पाक्ने तरकारीमा पनि विदेशकै भर पर्नुपर्ने अवस्था देखिएको छ। खेतबारी बाँझो हुँदै गएको अवस्थामा पाँच महिनाको अवधिमा १४ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको तरकारी, ११ अर्ब ८९ करोड ३८ लाख रुपैयाँको फलफूल विदेशबाट आयात भएको छ। त्यसैगरी ६३ अर्ब १४ करोड रुपैयाँको जनावर र वनस्पतिजन्य बोसो तथा तेल आयात भएको भन्सार विभागले जनाएको छ। खाद्य उद्योगका लागि १० अर्ब ७९ करोड खाद्यवस्तु आयात भएको छ। त्यसैगरी, चार अर्ब तीन करोड रुपैयाँको कफी तथा चिया विदेशबाट ल्याइएको छ। विभागका अनुसार आठ अर्ब ३९ करोड रुपैयाँ बराबरको तेलहन बिउ आयात भएको विभागले जनाएको छ।


स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको छ। नेपालीका भान्सामा पाक्ने चामल, माछामासु, तेल, प्याज, आलु, धनियाँ आदि भारत, चीनलगायत विभिन्न मुलुकबाट आयात भइरहेका छन्। कृषिजन्य वस्तु मात्र नभएर माछा मासुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था छ। आयात प्रतिस्थापन गर्न बाँझो जग्गा उपयोगमा ल्याएर उत्पादन बढाउने बताउँदै आइए पनि वृद्धि हुन सकेको छैन। सरकारले हरेक वर्षको बजेटमा धान, मकै, तरकारी, सुन्तला, स्याउ, माछा, दुध उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने घोषणा गर्दै आएको छ। धान, मकै, तरकारी, सुन्तला, स्याउ, माछा, दुध उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजना कागजमै सीमित छन्। सरकारले हरके वर्षको बजेटमा विभिन्न कृषिजन्य वस्तुको उत्पादन बढाउने बताउँदै आए पनि परिणाम आउन सकेको छैन। आयात हुनेमा सबैभन्दा धेरै खाद्यान्नलगायत कृषिजन्य वस्तु छन्।


सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिँदैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। कृषिमा केही लगानी बढे पनि मुख्य खाद्य बालीको उत्पादन बढ्न सकेको छैन। खाद्यान्नसहित तरकारी, फलफूल, चिया, कफी, प्याज, अदुवा, लसुन, बेसार, अलैंची, मुसुरो, चना, रहर, मास, तेलहनअन्तर्गत तोरी, सस्र्युं, भटमासलगायत बालीले पनि राम्रो उत्पादन दिन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था छ।


मुलुकमा कृषिजन्य वस्तु मात्र नभएर अन्य औद्योगिकीकरण नहुँदा आयात बढ्दै गएको छ। आयात वृद्धि हुँदा मुलुकले व्यापार घाटा पनि बेहोर्दै गएको छ। पाँच महिनाको अवधिमा मुलुकको व्यापार घाटा साढे ६ खर्ब नाघेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। विभागका अनुसार पोहोरको सोही अवधिको तुलनामा व्यापार घाटा साढे १० प्रतिशतले बढेको छ। यो अवधिमा वैदेशिक व्यापार आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ।


विभागका अनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। यो अवधिमा आयात करिब १६ प्रतिशतले बढेको छ भने निर्यात ५८ प्रतिशतले बढेको छ। आयात र निर्यात दुवै वृद्धि हुँदा समग्र वैदेशिक व्यापार उकालो लागेको तथ्यांकले देखाएको छ। 


विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोड बराबर वस्तु आयात भएको छ। जुन गत आव सोही अवधिको तुलनामा १५।८३ प्रतिशत धेरै हो। निर्यात भने १ खर्ब १६ अर्ब ५० करोड बराबर भएको छ। यो गत आवको तुलनामा ५८।१७ प्रतिशत धेरै हो। कुल वैदेशिक व्यापारको आकार २० प्रतिशतले वृद्धि भए पनि व्यापार घाटा भने १०।५२ प्रतिशतले बढेको छ।


चालु आवको मंसिरसम्म आयातित मुख्य वस्तु


खाद्यान्न २२ अर्ब ७२ करोड

तरकारी १४ अर्ब ८९ करोड

फलफूल ११ अर्ब ८९ करोड

खाद्य उद्योग कच्चा पदार्थ १० अर्ब ७९ करोड

चिया–कफी ४ अर्ब ३ करोड

तेलहन ८ अर्ब ३९ करोड

जनावर र वनस्पतिजन्य बोसो तथा तेल ६३ अर्ब १४ करोड । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।