सोलुखुम्बुः सामुदायिक वन जोगाउने उद्देश्यले सोलुखुम्बुमा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो ।

समितिका अनुसार ४६ घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको हो । वन उपभोक्ता समितिका उपाध्यक्ष दावा शेर्पाका अनुसार वनजङ्गल जोगाउन यो उपाय रचिएको हो ।

उपभोक्ता समितिको आन्तरिक स्रोतमार्फत् ४६ घरधुरीलाई १ लाख ५५ हजार रुपैयाँबराबरको ग्याससहितको सिलिण्डर प्रदान गरिएको शेर्पाले बताए । वडालाई धुवाँमुक्त बनाउन र वनजङ्गल जोगाउन सामुदायिक वन कार्यालयले यस्तो काम गरेको उनी बताउँछन् ।

सोलु दूधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले वन जोगाउन र प्रदूषण नियन्त्रणमा यस्ता कार्यले सहयोग पुग्ने बताए । ग्यास सिलिण्डर प्राप्त गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।