सोलखुम्बुः सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट सेवा शुरु गरेको छ । गाउँपालिकाको आफ्नै लगानीमा प्रशासनिक भवन बनेको हो । नवनिर्मित चार भवनमा करीब २ सय जना अटाउन सक्ने क्षमता भएको सभाकक्षसहित २१ कोठा छन् ।

कुँवर डेप्लोवर एण्ड बिल्डर्स प्रालिले प्रिफाइभ सिस्टमको उक्त भवन करीब १ करोड ८९ लाख ९१ हजारमा बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए । सो भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् ।

गाउँपालिका अध्यक्ष असिम राईले यसअघि सेवा प्रवाहमा निकै गाह्रो भएको अनुभव सुनाउँदै आगामी दिनको सेवा प्रवाह तथा विषयगत कार्यालय व्यवस्थापनमा सहज हुने बताए ।

प्रतिनिधिसभा सदस्य हेमकुमार राईले स्थानीय तह आत्मनिर्भर बन्दै गएको भन्दै गाउँपालिकावासी, जनप्रतिनिधि, कर्मचारीलगायतको सक्रियताले गाउँपालिका प्रशंसायोग्य कार्य गर्न सफल भएको बताए ।

स्थानीय सरकार गठन भएपछि आफ्नै लगानीमा भवन निर्माण गरी सेवा शुरु गर्ने थुलुङ दूधकोशी पहिलो गाउँपालिका बनेको छ ।
यता सोलुदूधकुण्ड नगरपालिकाले पनि आफ्नै कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाएको छ ।