दमकः  शुक्रबार राति ९ः १० बजे भद्रपुर विमान स्थलमा रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई आइतबार खोल्साबाट बाहिर निकाली  सुरक्षित स्थानमा राख्ने काम  भएको छ।  जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको भद्रपुर  विमान स्थलका प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए । 

काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन यात्रुहरू सामान्य घाइते बनेका थिए।

खत्रीका अनुसार विमान अप्ठ्यारो स्थानमा रहेकाले शनिबार दिनभर खोल्सा पुर्ने र जहाज सार्ने पूर्व तयारीको काम गरिएको थियो। आइतबार सुरक्षित स्थानमा राख्ने योजना अनुसार काम भएको उनले बताए । उनले शनिबार बिहानबाट भद्रपुर विमान स्थलमा नियमित उडान तथा अवतरणमा कुनै पनि समस्या नरहेको बताए ।

दुर्घटनाबारे र विमानको अवस्थाको विषयमा प्राविधिक तथा इन्जिनियर घटना स्थलमा खटिएर आवश्यक अध्ययन तथा प्राविधिक काम सुरु गरेको खत्रीले जानकारी दिए ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित विमान स्थल आएको खत्रीले जानकारी दिएका छन् । ।