इटहरीः इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम कोशी प्रदेशमै पहिलो पटक इटहरीमा भित्र्याएका हुन् ।
एक महिनाभित्र सञ्चालनमा आउन लागेको उक्त होटेलमा ८१ वटा कोठा रहने छन् जसमा डिलक्स सिङ्गल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ दुई, जुनियर स्विट छ र स्विट दुई कोठा रहने छन् ।
होटेलमा टेरेस बार, अल डे डाइनिङ रेस्टुरेन्ट, कफी सप, दुई वटा ब्याङ्क्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पुल बार, स्विमिङ पुल, जिम र स्टिम र साउनाको सुविधा उपलब्ध हुने जनाइएको छ । व्यावसायिक बैठकदेखि विवाह तथा सामाजिक कार्यका लागि होटेल उपयुक्त हुने छ । होटेलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसरसमेत प्रदान गर्दै छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समितिका सभापतिसमेत रहेका बस्नेतका अनुसार नेपालको पर्यटकीय सम्भावनालाई थप उजागर गर्न पूर्वी नेपालमै पहिलो पटक अमेरिकी चेन होटेल ब्रान्ड भित्र्याइएको हो ।



















