सङ्खुवासभा: कुनै एउटा समय थियो सङ्खुवासभाको मादीलाई नेपालकै एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा लिने गरिन्थ्यो । नेपालको कर्मचारीतन्त्रको उच्च ओहोदामा पुगेका कर्मचारी र शिक्षित वर्गको केन्द्रसम्मको उपस्थितिले यो कुरालाई प्रमाणित पनि गर्दथ्यो ।

तर, यो कुरा पछिल्लो समय ‘एक ताका’ मा सीमित हुँदै गएको पाइन्छ । देशमा सङ्घीयता लागू भएसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मामा गयो । त्यसैले मादी नगरपालिकामा रहेका मादी बहुमुखी क्याम्पस र मादी उच्च माध्यमिक विद्यालयलाई राम्रो शैक्षिक गन्तव्य बनाउन मादी नगर कार्यपालिकाले कम्मर कस्ने भएको छ ।

उच्च माध्यमिक तहको अध्ययनका लागि एउटा राम्रो गन्तव्य बन्न सक्ने मादी बहुमुखी क्याम्पसको विकासका लागि मादीमा बहुधार्मिक महोत्सवको आयोजना गरिँदैछ । उक्त महोत्सवबाट आर्थिक सङ्कलन गर्ने र त्यसले मादी बहुमुखी क्याम्पसको शैक्षिक स्तर उकास्ने योजना रहेको मेयर विदुर लिङ्थेपले बताए ।

‘अग्रजहरूले मादीलाई जसरी शैक्षिक केन्द्रका रूपमा विकास गर्नुभयो, पछिल्लो समय विभिन्न कारणले उक्त कुरा कथाजस्तो भयो,’ मेयर लिङ्थेपले भने, ‘हाल स्थानीय तहमा रहेका क्याम्पस न प्रदेशले जिम्मा लिन सक्छ, न विश्वविद्यालयले नै । यो जनताको संस्था हो, मादीको साख फर्काउन जनतासँगै मिलेर शैक्षिक विकास गर्ने योजना छ ।’

मेयर लिङ्थेपका अनुसार उक्त महोत्सवमा हिन्दू, बौद्ध किरातलगायतका धर्मका पुराणको आयोजना गरिने छ । उक्त महायज्ञको आयोजनामा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहोर्ने छ । उक्त महायज्ञमा उठेको रकममा नगरपालिकाले रकम थप गरी एउटा कोष स्थापना गर्नेछ । त्यसै कोषबाट क्याम्पसको शैक्षिक विकास गर्ने योजना रहेको मेयर लिङ्थेपको भनाइ छ ।

त्यस्तै देशमा विकसित हुँदै गएको जातीय द्वन्द्वलाई निरुत्साहित गर्ने सन्देश दिनसमेत उक्त महोत्सवको आयोजना गर्न लागिएको उनी बताउँछन् । ‘यो महोत्सवपछि धार्मिक एकता स्तम्भ उठाउने योजना छ । हामी भावी पुस्तालाई समेत हाम्रा पुर्खा मिलेर बसेका रहेछन् भन्ने सन्देश दिन्छौँ,’ मेयर लिङ्थेपले भने, ‘यहाँ सबै धर्मका धार्मिक गतिविधि गरिन्छ । यसले धार्मिक एकता कायम गर्छ, देशमा यो आवश्यक थियो । उक्त काम मादीले गर्न लागेको हो ।’

मादी बहुमुखी क्याम्पसलाई यसअघिजस्तै ‘लिडिङ क्याम्पस’का रूपमा आगामी वर्षबाटै बनाउने योजना नगरपालिकाको रहेको उनले बताए ।

तीन धर्मका धर्मगुरु एकै मञ्चमा
बहुधार्मिक, बहुसांस्कृतिक ज्ञानमहायज्ञ सङ्खुवासभाको मादी नगरपालिकामा हुने भएको छ । हिन्दू, बौद्ध र किरात धर्मका गुरुहरूले एउटै मञ्चबाट प्रवचन गर्ने भएका छन् । पश्चिमी धर्मको प्रभावले पछिल्लो समय मौलिक नेपाली धर्ममा असर पु¥याएकाले धार्मिक एकताको सन्देश दिन महायज्ञको आयोजना गरेको प्रचार समितिका संयोजक कुलमणि दाहालले जानकारी दिए । महायज्ञमा ३ वटै धर्मका गुरुहरूले एउटै मञ्चबाट धार्मिक प्रवचन गर्ने भएका हुन् ।

महायज्ञमा हिन्दू धर्मका दीनबन्धु पोख्रेल, बौद्ध धर्मका डाक्टर शिर लामा गुरुङ र किरात धर्मका झुमा वनेम लिम्बूले प्रवचन दिने बताइएको छ । मादी बहुमुखी क्याम्पसको आयोजना र मादी नगरपालिकाको प्रायोजनमा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म महायज्ञ तथा महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ ।

महायज्ञबाट करिब २ करोड रुपैयाँ सङ्कलन हुने र सो रकम अक्षयकोष खडा गरी क्याम्पसको बृहत्तर विकास गर्ने लक्ष्य रहेको क्याम्पस प्रमुख मनबहादुर कार्कीको भनाइ छ ।