उदयपुरः देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा अभिनन्दन गरिएको छ ।
महाप्रबन्धक हुँदा पौडेलले सिमेन्ट उद्योगमा व्यापक सुधार ल्याएर शतप्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको भन्दै बुधबार उदयपुरको जलजले तथा देउरीका स्थानीयवासीले अभिनन्दन गरेको जलजलेका समाजसेवी कृष्णप्रसाद पराजुलीले बताए ।
यस्तै बुधबार नै पौडेललाई त्रियुगा उद्योग वाणिज्य सङ्घ उदयपुरले समेत भव्य अभिनन्दन गरेको थियो । विगतमा धाराशायी भएको उदयपुर सिमेन्ट उद्योगलाई सुधार गरेर अहिले क्षमताभन्दा बढी सिमेन्ट उत्पादन गर्न सक्ने बनाएको भन्दै सङ्घले पौडेललाई अभिनन्दन गरेको सङ्घका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।
जिल्लाका विभिन्न गैरसरकारी सङ्घ संस्था तथा नागरिक समाज गाईघाटले समेत निवर्तमान महाप्रबन्धक पौडेललाई अभिनन्दन गरेको उदयपुरका नागरिक अगुवा कृष्णकुमार श्रेष्ठले बताए ।
३ वर्षअघिसम्म आर्थिकरूपमा धाराशायी भएको उदयपुर सिमेन्ट उद्योगलाई पौडेल महाप्रबन्धक भएर आएपछि उद्योगको प्राविधिक, भौतिक र प्रशासनिक सुधार गरेपछि अहिले उद्योगले सिमेन्ट उत्पादनमा ठूलो फड्को मारेको बताइन्छ ।
प्रतिदिन ८ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योगमा २ वर्ष अघिसम्म दैनिक ५ सय ५० देखि ६ सय मेट्रिक टनसम्म मात्र उत्पादन हुने गरेको थियो । पौडेल महाप्रबन्धक भएर आएपछि उद्योगले दैनिक ७ सयदेखि ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । अहिले दैनिक क्षमता ८ सय मेट्रिक टनभन्दा पनि बढी भएको बताइएको छ ।
२ वर्ष अघिसम्म वार्षिक २५ करोड घाटामा रहेको उद्योगलाई पौडेलले वार्षिक ३५ करोडसम्म नाफामा पु¥याएका थिए । कुशल महाप्रबन्धक भएकै कारण उनलाई केही दिनअघि मात्र नेपाल सरकारले नेपाल आयल निगममा कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको छ ।