धरानः इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका– ५ स्थित अँधेरी खोलाबाट शुक्रबार एउटा जेसिबी नियन्त्रणमा लिएको छ ।
खोला उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले जेसिबी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको जेसिबी धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूको भएको प्रहरीले जनाएको छ । जेसिबीका चालक र सहयोगी फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
अँधेरी खोलाबाट ढुङ्गा र गिटी निकाल्दै गरेको अवस्थामा को १ क २४३४ नम्बरको जेसिबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
नियन्त्रणमा लिइएको जेसिबीलाई कारवाहीको लागि प्रहरीले सेक्टर वन कार्यालय तीनकुनेलाई जिम्मा लगाएको छ । वडाध्यक्ष सन्तोष लिम्बू भने आफूले खोला उत्खनन नगरेको बताउँछन् ।
‘प्रहरीले फसाउने बाहना खोजेको हो,’ उनले भने, ‘विभिन्न बाहनामा दुःख दिइरहन्छ । यो ज्यादती हो ।’