सुनसरी । इटहरी २० स्थित तरहरा नजिक चोरी तस्करी गरी स्टकमा राखिएको ढुङ्गाको विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको ध्यानाकर्षण भएको छ । तरहरास्थित प्रभु पेट्रोल पम्प नजिक व्यक्तिको जमिनमा स्टक प्रमाणित नै नगरी ढुङ्गा लामो समयदेखि थुपारेर बिक्री भइरहेको छ । तरहराकै ओम खड्का र भीम खड्काले यो अवैध धन्दा चलाइरहेका हुन । धरानस्थित सेउती खोलाबाट ढुङ्गा चोरी तस्करी गरी तरहरामा खुलेआम स्टक गरी बिक्री भइरहेको विषयमा प्रदेश पोर्टलले समाचार प्रकाशित गरेको थियो । यसमा विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीको ध्यानाकर्षण भएको र अनुगमन गरिने भएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने स्टक गरी राखिएको ढुङ्गाको विषयमा बुझ्ने काम भइरहेको बताए । इटहरी मात्र नभई अन्य क्षेत्रमा समेत यसरी नै खोलाजन्य सामाग्री स्टक राखेको विषय सूचना आएको बताउँदै प्रहरी र स्थानीय सरकारसँग समन्वय गरेर अनुगमन गर्ने र कानुन विपरीत भए कारबाही हुने प्रदेश पोर्टलसँग बताए । यस्तै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले पनि सहायक प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा कुरा भएको र चाडै इटहरी उप-महानगरपालिकाको समन्वयमा स्टक गरेको ठाउँको अनुगमन गर्ने जानकारी दिए । यता रातको समयमा चोरी तस्करी भई आएका खोलाजन्य सामाग्री नियन्त्रणमा लिन समेत सबै मातहतका चौकीहरूलाई डिएसपी हमालले निर्देशन दिएका छन् । 
कोशी राजमार्ग अन्तर्गत तरहरा स्थित प्रभु पेट्रोल पम्प नजिक व्यक्तिको जमिनमा थुपारेको ढुङ्गाको स्रोत र बिल रसिद नै छैन । सुनसरीमा हाल कुनै पनि खोलामा ढुङ्गाको ठेक्का लागेको छैन भने मोरङका केही खोलाहरूमा भर्खरै ठेक्का सम्झौताको प्रक्रियामा छन् । 
Sequence 61.00_00_04_16.Still004