धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त बनेको छ । कमजोर व्यवस्थापन र बिरामी राख्ने बेडको अभावका कारण आकस्मिक कक्ष अस्तव्यस्त हुन पुगेको हो ।
आकस्मिक कक्षलाई व्यवस्थित गर्न जनदबाब आएपछि प्रतिष्ठानले ५० बेड थप्ने काम शुक्रबारदेखि शुरु गरेको छ । आकस्मिक कक्ष विस्तार गर्न धरानका राजनीतिक दल, कर्मचारी कल्याण समाज, तथा स्थानीय अगुवाले दबाब दिएका थिए ।
केही महिना अगाडि नै आकस्मिक कक्ष बिस्तार गर्ने कार्य शुरु गरे पनि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वीकृतिबिनै काम गर्न खोजेको भन्दै काम रोकेका थिए । अहिले जनदबाब बढेपछि प्रतिष्ठानले निर्माण कार्य पुनः थालेको छ ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्ष बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय दिएकै छैन । ‘अहिले जनदबाब बढेपछि निर्माण कार्य थालिएको हो’, प्रतिष्ठान स्रोतले भन्यो । प्रतिष्ठानको आकस्मिक कक्षमा ६० जनाको उपचार गर्ने क्षमता भए पनि अहिले दैनिक १ सय ३० जना बिरामी भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यता छ ।
अहिले बेड अभावमा भुइँमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा. रविन भण्डारीले भने, ‘अहिले भुइँमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’ आकस्मिक कक्षभित्र बिरामीको चापका कारण डाक्टरहरुरूले पनि सहजतापूर्वक उपचार गर्न नपाएको उनी बताउँछन् ।
‘अब ५० बेड थप गरेपछि हामीलाई केही सहज हुने छ तर अहिलेको माग भनेको १ सय ६० बेडको हो’, इञ्चार्ज भण्डारीले भने । प्रतिष्ठान स्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङका अनुसार ५० बेड थप भएपछि आकस्मिक कक्षको भीडभाड अलि कम हुने छ ।
समाजले पनि आकस्मिक कक्षको बिस्तार गर्न माग गर्दै आएको थियो । ३ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशंकर साहले जानकारी दिए ।