इटहरीः सर्लाही जिल्लामा आज बिहान भएको सवारी दुर्घटनामा ३ जना यात्रीको मृत्यु भएको छ । मृतकमध्ये २ जना पूर्वका रहेका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ को बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार २ जना र ट्रकमा सवार १ जनाको मृत्यु भएको हो । घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बस बिग्रेर रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ७१२९ नं को ट्रकले बसको पछाडि ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ठक्करबाट बसका यात्री इलामको सुलुबुङ नगरपालिकाका २७ वर्षीय गोविन्द साउदेन र सुनसरीको इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीया विनिता राईको मृत्यु भएको हो । ट्रकमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बस चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुरको कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएको बताइएको छ । नुवाकोटको विदुर नगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ पनि घाइते भएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका बसचालक खतिवडाको महोत्तरीको बर्दिबासमा सहचालक अधिकारीको सर्लाहीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।