फाइल तस्बिर
इलामः विशेष गरी विवाह तथा अन्य कार्यक्रममा बजाउने नौमती बाजा हराउँदै गएको छ । विशेषतः दलित समुदायले बजाउने यो बाजा हिजोआज बजाउन छाडिएको छ ।
नौमती संस्कृति लोप हुने सङ्घारमा पुगेका बेला इलामका केही युवा भने नौमती ब्युँँताउन लागि परेका छन् । नौमती बाजाको संरक्षण गर्न समिति नै खोलेको इलामको देउमाई नगरपालिकाका विक्रम दास बताउँछन् ।
पछिल्लो समय विवाह, व्रतबन्धमा मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम तथा पर्वमा पनि नौमती बाजाको माग हुन थालेपछि नौमती बजाउन शुरु गरिएको दासको भनाइ छ । लोकसंस्कृतिको रक्षा गर्ने उद्देश्यले नै गजुरमुखी नौमती बाजा संरक्षण समितिको नाममा संस्था खोलेको र देउमाइ नगरपालिकाबाट पनि सहयोग पाइरहेको उनले बताए ।
दाससँगै १२ जनाको समूह अहिले गाउँघरका कार्यक्रम, विवाहमा गएर नौमती बजाउने गर्छन् । यसले संस्कृतिको जगेर्ना हुनुका साथै संस्थालाई आर्थिक रूपमा सहयोगसमेत मिलेको उनको भनाइ छ ।