बिहीबार रातिसम्म ३९९ शव भेटिए, ८३३ को उद्धार, हजारभन्दा धेरै अझै सम्पर्कविहीन
इटहरीः भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको क्षति भयावह रहेको सुरक्षा निकायले जनाएको छ । बाढीमा परेका ३९९ जनाको शव भेटिएको छ भने एक हजारभन्दा धेरै व्यक्ति अझै सम्पर्कविहीन छन् । सरकारले हराएकाहरूको अझै लेखाजोखा गर्न सकेको छैन ।
बाढीपछि सम्पर्कविहीन भएका आफन्तको बिहीबार पनि देशैभरबाट उजुरी (सूचना) आएको प्रहरीले जनाएको छ । रसुवा र नुवाकोटमा हराउने विदेशीको संख्या मात्र ६४४ पुगेको छ । बाढीमा बेपत्ता हुने स्थानीयको लेखाजोखा नै छैन । सुरक्षाकर्मी, कर्मचारी तथा जलविद्युत्का गरी करिब तीन सय कर्मचारी सम्पर्कविहीन छन् ।
‘सम्पर्कविहीनहरूको संख्या बढिरहेको छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, ‘तर, कति छन् भनेर यकिन विवरण अझै संकलन भइसकेको छैन । सम्पर्कविहीन भएको भनेर आउने सूचना बढिरहेको छ ।’
अधिकांश नुवाकोट घुम्न गएका तथा नुवाकोट–रसुवा क्षेत्रमा कार्यरत व्यक्तिका आफन्तले सूचना गरेका छन् । बिहीबारसम्म सम्पर्कविहीनहरूको खोजीका लागि एक हजारभन्दा धेरै सूचना प्राप्त भइसकेको प्रहरीले जनाएको छ । सोही क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबारे सुरक्षा निकायले सूचना पाउन सकेका छैनन् । मानसरोवर र गोसाईंकुण्ड घुम्न जाने धेरै टोली बाढीमा परेकाले ठुलो मानवीय क्षति भएको आकलन गरिएको छ ।
चार सयभन्दा धेरै यात्रुबस फेला नपरेको यातायात व्यवसायीले बताएका छन् । त्यस्तै, ठुलो संख्यामा निजी सवारी पनि बाढीमा परेका छन् । ती सवारीसाधनमा रहेका यात्रुको पनि लेखाजोखा छैन । बाढीले करिब २० किलोमिटर पक्की सडक बगाएको छ । ती सडकमा गुडिरेहका गाडीहरू पनि बगाएको सार्वजनिक भएका भिडियोहरूमा देखिन्छ ।
हाइड्रोपावरमा कार्यरत केही कर्मचारीको बिहीबार उद्धार भएको छ । तर, दुई सयभन्दा धेरै अझै सम्पर्कविहीन छन् । ८५ सुरक्षाकर्मीको बिहीबारसम्म पनि केही पत्ता लागेको छैन । भन्सार र अध्यागमनका १९ कर्मचारी पनि सम्पर्कविहीन नै रहेको गृह मन्त्रालयले जनाएको छ । व्यक्तिगत रूपमा रसुवा जाने स्वदेशी पर्यटकको यकिन विवरण अझै संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले बिहीबार मात्र ८३३ जनाको उद्धार गरेको जनाएको छ । अपर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेकाहरूको पनि उद्धार गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्याफ्रुबेँसीस्थित लाङटाङ हाइड्रोको टनेलमा अझै कतिपय फसेको सूचना आए पनि आवश्यक स्रोतसाधन नहुँदा सुरक्षा निकायले उद्धार गर्न सकेका छैनन् ।
बस र ट्रक गरेर नौ सयभन्दा बढी गाडी बेपत्ताः मानसरोवर जाने यात्रु बोकेका मात्रै ४० गाडी बेपत्ता
बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चार सयभन्दा बढी यात्रुवाहक गाडी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
हालसम्म विभिन्न यातायात कम्पनीबाट २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण महासंघमा प्राप्त भएको छ । अन्य कम्पनीबाट पनि विवरण आउने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधनको संख्या अझ बढ्न सक्ने महासंघका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताए । ‘पर्यटन, तीर्थ र सर्वसाधारण बोकेर हिँडेका चार सयभन्दा बढी गाडी बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । मानसरोवर जाने तीर्थयात्रु बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता छन् । यसैगरी ६० भन्दा बढी साना माइक्रोबससमेत हराएको प्रारम्भिक विवरण छ । ‘विवरण आउने क्रम जारी छ । भोलिदेखि अझ विस्तृत विवरण आउनेछ,’ महासचिव गौतमले भने । गोसाईंकुण्ड, मानसरोवरसहित रसुवा र नुवाकोटका विभिन्न गन्तव्यतर्फ गइरहेका सवारीसाधन बाढीमा परेका हुन् । उनका अनुसार चार सयभन्दा बढी चालक तथा सहचालकसमेत सम्पर्कविहीन छन् । ती सवारीसाधनमा कति यात्रु थिए भन्ने यकिन विवरण भने अझै आउन सकेको छैन । ‘के–कति यात्रु छन् भन्ने विषयमा अझै विवरण आएको छैन,’ उनले भने ।
महासंघले बेपत्ता तथा क्षतिको विवरण संकलन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी सदस्य छन् । महासचिव गौतमका अनुसार समितिले शुक्रबारदेखि फिल्डमै पुगेर क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी गर्नेछ । बाढीमा परेर पाँच सयभन्दा बढी मालवाहक ट्रक पनि बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान लिन चीन प्रवेश गरेका मात्रै तीन सयहाराहारी ट्रक बाढीमा परेको व्यवसायीहरूले बताएका छन् । यसबाहेक विभिन्न सडकखण्डमा भएका मालवाहक गाडी पनि बेपत्ता भएका छन् । सीमाक्षेत्रमा भन्सार पासकै लागि रोकिएका करिब दुई सय मालवाहक गाडी पनि बेपत्ता भएका छन् । महासंघका महासचिव गौतमले बस र ट्रक गरेर कुल नौ सयभन्दा बढी गाडी बेपत्ता भएको र चार सयभन्दा बढी चालक तथा सहचालक सम्पर्कबाहिर रहेको बताए । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।




















