इटहरीः भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा विभिन्न कामका सिलसिलामा पुगेका सुनसरीका १५ जना अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बाढीपछि सम्पर्कविहीन भएको भन्दै १९ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये चार जना भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सम्पर्कमा आउनेमा रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन् ।
प्रहरीका अनुसार अझै सम्पर्कविहीन रहेकामा दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्याम नारायण साह, कोशी गाउँपालिका–९ की मिना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११ मधुवनका छवि केशर काफ्ले र सोही स्थानका मणि करण राई रहेका छन् ।
त्यस्तै, इटहरी उपमहानगरपालिका–१९ का नेपाली सेनाका लेस नायक प्रभाकर दंगाल, इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविना कुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका–४ का मोहन माझी पनि सम्पर्कविहीन छन् ।
उनीहरू रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा रसुवा, त्रिशूली हाइड्रोपावर, गोसाइँकुण्डलगायतका क्षेत्रमा पुगेका थिए । बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कबाट बाहिरिएको सूचना प्राप्त भएको प्रहरी सूचना अधिकारी खड्काले बताए ।
प्रहरीले प्राप्त गरेको विवरणअनुसार हालसम्म चार जना सम्पर्कमा आए पनि १५ जनाको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनीहरूको खोजी तथा अवस्थाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।




















