इटहरीः भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १ सय ३० जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा १ सय ३८ जना सम्पर्कविहीन रहेकोमा हालसम्म आठ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। बाँकी १ सय ३० जनाको खोजी तथा अवस्थाबारे विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

हाल सोलुखुम्बुका ३८, सुनसरीका १७, मोरङका १४, उदयपुरका १३, ओखलढुंगाका १२ र इलामका ९ जना सम्पर्कविहीन छन्। त्यस्तै झापा र खोटाङका ८/८, ताप्लेजुङका ६, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका १/१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेमा रोजगारी, जलविद्युत् आयोजना, पर्यटन तथा तीर्थयात्राका लागि रसुवा, नुवाकोटलगायत क्षेत्रमा पुगेका मजदुर, कर्मचारी, ट्रक चालक, होटल व्यवसायी, पर्यटक तथा ट्रेकिङ समूहका व्यक्ति रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार सम्बन्धित परिवार तथा स्थानीय तहसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिहरूको थप विवरण संकलन गर्ने र खोजी कार्यलाई निरन्तरता दिइएको छ।