इटहरीः प्रदेश १ को स्थायी राजधानी इटहरीमै ल्याउने विषयमा इटहरीका सांसदले पुन तयारी शुरु गरेका छन् । यही माघ दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लाग्ने भएसँगै सांसदहरूको सक्रियता बढेको हो ।
प्रदेशको स्थायी राजधानीको लागि विराटनगर, धरान, इटहरी र धनकुटाले आफ्नो लबिङ गरिरहेका छन् ।
यस विषयमा बर्खे अधिवेशनमै टुङ्गो लाग्ने भनिए पनि सरकारले संसदमा प्रस्ताव नै नलगी अधिवेशन समाप्त भयो । तर यही हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने मुख्यमन्त्री आफैँले बताएका छन् । जसले गर्दा पनि आफ्नो क्षेत्रमा राजधानी ल्याउनको लागि सांसदहरूको लबिङ शुरु भएको हो ।
इटहरीलाई राजधानी बनाउने लबिङमा सांसद लीलम बस्नेत र सर्वध्वज साँवाले आफ्नो सक्रियता बढाएका छन् । बस्नेत आन्तरिक रूपमा सांसदहरूसँग परामर्श गर्न र इटहरीको पक्षमा माहोल बनाउन लागिपरेका छन् ।
उता, साँवा भने इटहरीमा जुनसुकै हालतमा प्रदेश राजधानी ल्याएरै छाड्ने अडानमा छन् । आफूले चुनावमा गरेको वाचा नबिर्सिएको भन्दै उनले प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
अहिले प्रदेशको नाम र राजधानी सर्वत्र चासोको विषय बनेको छ । त्यसैले पनि प्रदेश सरकार राजधानी र नामङ्कनको विषय टुङ्ग्याउन लागिपरेको छ । सरकारले तदारुकता देखाएसँगै सांसदहरूले पनि आफ्नो पायक पर्ने क्षेत्रमा राजधानी ल्याउने कसरत शुरु गरेका हुन् ।
विराटनगर बाहिरका सांसदहरू विराटनगर भारतीय सीमा नजिक भएको र सम्पूर्ण जनताको पायक पर्ने स्थान नभएकाले इटहरी वा अन्य स्थानमा राजधानी लैजाने तर्क गर्छन् । जसको नेतृत्वमा इटहरीकै २ सांसद साँवा र बस्नेत छन् ।
इटहरीको पक्षमा लबिङ गर्ने सांसदहरूले मुख्यमन्त्री राईलाई पहिले पनि भेटिसकेका छन् भने फेरि पनि त्यही विषयमा भेटघाटको तयारी थालेका छन् ।
प्रदेश सांसद साँवा इटहरीमा प्रदेशसभा ल्याउने गरी कुरा भइरहेको बताउँछन् । उनका अनुसार विराटनगर इतरका सांसदहरूको अनौपचारिक भेलाले इटहरीमा प्रदेशसभा राख्न सकिने निर्णयमा पुगेको छ । ‘हामी हरहमेसा इटहरीलाई राजधानी बनाउन लागिपरेका छौँ । सम्पूर्ण संरचना नभए पनि व्यवस्थापिका इटहरीमा हुन्छ,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीज्यू पनि यस विषयमा सहमत हुनुहुन्छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेसले आफ्नो धारणा सार्वजनिक नगरेको भए पनि यस प्रस्तावमा सहमत हुन सक्ने देखिन्छ ।’
इटहरीका सांसदको पक्षमा हिमाली र पहाडी जिल्लाका सांसदहरू उभिएका छन् । उनीहरू विराटनगर सीमा क्षेत्र नजिकैको र असुरक्षित शहर भएकाले स्थायी राजधानी हुन उपयुक्त नभएको तर्क गर्छन् । जसले गर्दा इटहरीलाई राजधानी बनाउनुपर्छ भन्दै लबिङ गर्दै आएका साँवा र बस्नेतको मत बलियो भएको छ ।
बर्खे अधिवेशनमा प्रक्रियामै गएर भए पनि राजधानीको टुङ्गो लगाउनुपर्ने बताउने मोरङका सांसदहरू अहिले सहमतिमै समस्या समाधान गुर्नपर्छ भन्ने पक्षमा लागेको सांसद साँवा बताउँछन् । उनका अनुसार पहाडी जिल्लाका सांसदहरू इटहरीको पक्षमा भएकाले जसरी पनि इटहरी प्रदेशको राजधानी भएरै छाड्छ ।
उता, मुख्यमन्त्री राई आफैँ बृहत्तर विराटनगरको धारणा अगाडि सारिरहेका छन् । उनका अनुसार प्रदेश सरकार समानुपातिक अवधारणा अन्तर्गत राजधानी बनाउने तयारीमा लागेको छ ।