इटहरीः गत शनिबारदेखि आजको शनिबारसम्म प्रदेश १ का धेरै व्यक्तिहरू समाचारका शीर्षक बने । यसरी समाचारको शीर्षक बन्नेहरूमा राजनीतिज्ञ, चिकित्सक, जनप्रतिनिधिदेखि सामान्य बालिकासम्म छन् । यी हुन् गत साता प्रदेश १ का शीर्ष ७ न्युजमेकरहरूः
१. योगेश भट्टराई
सङ्घीय सांसद योगेश भट्टराईले गत साता धेरै समाचार शीर्षकहरू बनाए । डाक्टर गोविन्द केसीको अनसन र उनका मागहरूको बारेमा भट्टराईले इलाम र झापा आएर दिएका अभिव्यक्तिहरूबाट थुप्रै समाचार बने ।
सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले केसीलाई कम्युनिष्टफोबिया भएको र उनका मागहरू अधिकांश पूरा भएको बताएका थिए । साथै, केसीलाई सरकारले जसरी पनि बचाउने अभिव्यक्ति दिएका थिए भट्टराईले ।
२. जयराम यादव
प्रदेश १ का सांसद हुन् जयराम यादव । यादव माघ २ र ३ गते प्रदेशका थुप्रै समाचार शीर्षक बने । स्थानीय तहका प्रमुखहरूले विलासी गाडी किनेर दमकल नकिनेको अवस्थामा निजी गाडी नचढ्ने सांसद यादवले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमबाट दमकल किन्न ६० लाख रुपैयाँ छुट्याएका छन् ।
मोरङको क्षेत्र नम्बर ५ (ख) का सांसद यादवले आफ्नो चुनावी क्षेत्रको स्थानीय तह जहदा गाउँपालिकाको लागि दमकल किन्ने भएका छन् । टुक्रे आयोजनामा भन्दा कामकाजी काममा बजेट लगाएको भन्दै सङ्घीय समाजवादी फोरमका प्रत्यक्ष निर्वाचित सांसद यादवको चर्चा प्रदेशभर चलिरहेको छ ।
३. डाक्टर गोविन्द केसी
१६ औँ अनसनको लागि इलाम आएका डाक्टर गोविन्द केसी पनि चर्चामा रहे । पुस २५ बाट अनसनमा बसेका केसीलाई बिहीबार राती इलामबाट झापा ल्याइएको थियो ।
शुक्रबार बिहान ३ बजे काठमाडौंको शिक्षण अस्पतालमा केसीलाई भर्ना गरिएको थियो । केसीको स्वास्थ्यमा असर परेको भन्दै उनलाई हेलिकोप्टरमा राजधानी लगिएको थियो । इलामबाट झापाको भद्रपुरसम्म एम्बुलेन्समा तथा भद्रपुरबाट काठमाडौंसम्म नेपाली सेनाको नाइट भिजन हेलिकोप्टरमा उनलाई लगिएको थियो ।
४. विजय थापा
गोविन्द केसी अनसन बस्न आएकै स्थानमा अनसन बस्न आएका युवा विजय थापा पनि चर्चामा आए । चिकित्सा शिक्षा विधेयकलाई संशोधन नगरी हुबहु रूपमा प्रतिनिधिसभाबाट पारित हुनुपर्ने थापाको माग थियो । ८ दिनको अनसनपछि थापालाई पनि शुक्रबारै राजधानीमा हेलिकोप्टरबाट लगिएको थियो ।
५. सबिना मेचे
१२ वर्षे बालिका सबिना मेचेकी एक्ली अभिभावक शर्मिला मेचेको ३९ वर्षकै उमेरमा निधन भयो । बिहीबार आमा शर्मिलाको मृत्यु भएपछि समाजको विरोधका बाबजुद पनि १२ वर्षीया सबिना आमाको किरिया गर्न बसिन् ।
बाबु बेपत्ता भएकी सबिना मुटुरोगी आमालाई साइकलमा हालेर उपचारमा लान्थिन् । सबिनाको साहसको लागि धेरैले उनको तारिफ गर्न थालेका छन् । मेचीनगर–११ झापाकी सबिनालाई सो नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले पनि भेटिन् । सबिनालाई स्थानीय सरकारले सहयोग गर्ने पनि उपमेयरले बताएकी छिन् ।
६. बीपी दास
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बीपी दास गत साता थुप्रै समाचारका शीर्षक बने । बीपी प्रतिष्ठानमा पढ्न चाहने भारतीय विद्यार्थीहरूसँग आर्थिक बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको मुद्दामा अख्तियारले चासो दिएका कारण दास चर्चामा आए । अडियोको बारेमा पत्र काट्दै अख्तियारले सक्रियता देखाएपछि दास अहिले पुनः विवादमा र चर्चामा छन् ।
७. लक्ष्मी गौतम
इटहरीकी उपमेयर यो साता धेरै चर्चामा आइन् । माघ पहिलो साता इटहरीको वडा नम्बर ३ को बुढी खोला अनुगमन गर्न जाँदा वडाध्यक्ष बालकृष्ण बिष्टले धम्की दिएपछि गौतम चर्चामा आइन् ।
गौतमलाई धम्की दिएको अडियो प्रमाणसहितको समाचार प्रदेश पोर्टलले प्रकाशन गरेपछि गौतम र बिष्टको चर्चा बढ्यो । गौतमले आफ्नो अधिकार क्षेत्रमा वडाध्यक्षले अनावश्यक तनाव दिएको बताएकी थिइन् ।
वडाध्यक्ष विष्टले भने उपमेयर गौतमले आफ्नो बद्नाम गर्न थालेको भन्दै बताएका थिए । बिष्ट इटहरीका सेहरा खोला र बुढी खोलामा तटबन्ध बनाउने र भत्काउने काममा संलग्न रहेको भनी लामो समयदेखि आलोचित पात्र हुन् । उनले भने यो आरोपको खण्डन गर्दै आएका छन् ।