इटहरीः परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उनको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । 

नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताए। उनले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताए । उनले भने, “वेत्रावती किनारछेउ उहाँहरूको पहिलेदेखि नै कपडा पसल थियो । बाढीले घरै बगाएर अर्कै ठाउँमा पुर्‍याएको थियो । २४ जनाको शव भेटिएको घरछेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिएँ । भगवान्को कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान् भने अझै बेपत्ता हुनुहुन्छ ।”

उपचारका लागि काठमाडौँ ल्याएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले आफ्ना सम्धीलगायत आफन्तहरू बाढीमा हराएको पीडाका बिच सम्धिनी सकुशल फेला परेकोमा खुसी लागेको बताए । उनले भने, “छोराहरूले धेरै खोजी गर्दा फेला नपरेपछि उहाँको किरियाकर्म सुरु गरिएको थियो । आज सम्धिनी पाएकोमा खुसी लाग्यो । संसारमा भगवान् छन् जस्तो लागिरहेको छ ।” उहाँलाई अस्पतालमा भेट्न नपाए पनि बोल्न सक्ने सकुशल अवस्थामा रहेको उनले बताए । बाढीबाट चण्डिकाका श्रीमान्, देउरानी, घरमा काम गर्ने एक व्यक्ति र एक जना नातेदार सोही घरबाट बेपत्ता भएको र उनीहरूको अहिलेसम्म केही अत्तोपत्तो छैन । शनिबार ६४ वर्षकी श्रेष्ठलाई बाढीको गेग्य्रानले पुरिन बाँकी रहेको क्षतिग्रस्त घरको चौथो तलाबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।