काठमाडौँः आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न छ ।
भोटेकोशीको बाढीले छोडेको पीडा तत्काल मेटिने छैन । हजारौँ परिवार अझै आफन्तको खोजीमा छन्, सयौँ परिवार घरबारविहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपत्ले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिनसमेत हो ।
यही विनाशकारी घटनाको १३ औँ दिनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउँदै छ । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने बताए ।
भोटेकोशी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौँ परिवार आफन्तको शव पर्खिरहेका छन्, कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन् । कतै घरबास गुमाएका परिवार अस्थायी आश्रयमा दिन बिताइरहेका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ तर करिब चार हजार १९६ जना अझै सम्पर्कविहीन छन् । बाढीमा एक हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ । सनाखत भई परिवारले बुझेका शवको सङ्ख्या ९८ रहेको छ ।
सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा कर्मचारी र विदेशी नागरिकसमेत छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार करिब एक हजार ८५७ नेपाली नागरिक तथा नुवाकोटबाट प्राप्त विवरण अनुसार करिब दुई हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन छन् । सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५९९ जना सम्पर्कविहीन रहेको विवरण छ ।
आफन्तको खोजीमा राज्य
विपत्को पहिलो घडीदेखि नै राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र खोज तथा उद्धारमा परिचालित छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति कठिन भूगोल, अवरुद्ध सडक र जोखिमपूर्ण नदीको प्रवाहबिच निरन्तर उद्धारमा खटिएका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन् । नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दिएका छन् ।
बाढीमा आफैँ सहकर्मी गुमाएका सुरक्षाकर्मीसमेत आफ्ना पीडा थाँती राखेर उद्धारमा खटिएका छन् । भोटेकोशीको बाढीमा ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन् । आफ्नै सहकर्मीको अवस्था अज्ञात हुँदाहुँदै पनि सुरक्षाकर्मी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र पीडितको उद्धारमा निरन्तर सक्रिय छन् । नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम र मुख्य फरवार्ड एयर बेस स्थापना गरी उद्धार सञ्चालन गरेको छ । रसुवाको धुन्चेमा पनि ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा छन् ।
उद्धारसँगै उपचार र आश्रय
बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत तीव्र पारिएको छ । हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । विभिन्न अस्पतालमा ३२३ जना उपचाररत छन् । नेपाली सेनाले तीन हजार २८८ र सशस्त्र प्रहरीले दुई हजार ४६२ जनालाई उपचार सेवा दिएको छ ।
उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन् । उनीहरूका लागि खाद्यान्न, जेनेरेटर, हाइजेनिक किट, विद्यार्थी किटलगायतका राहत सामग्री उपलब्ध गराइएको छ । प्रभावित नागरिकमा परेको मानसिक आघात कम गर्न मनोसामाजिक परामर्शसमेत सञ्चालन भइरहेको छ ।
पुनर्स्थापनाको कठिन चुनौती
उद्धार र राहतको तत्कालीन चरणसँगै अब राज्यसामु पुनर्स्थापना र पुनर्निर्माणको कठिन जिम्मेवारी थपिएको छ । बाढीले सडक, पुल, बस्ती, विद्युत् र जलविद्युत् संरचनामा ठुलो क्षति पुर्याएको छ ।
विद्युत् आपूर्ति भने क्रमशः पुनर्स्थापित हुँदै छ । रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ तर क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण, विस्थापित परिवारको सुरक्षित पुनर्वास, जीविकोपार्जनको पुनर्स्थापना तथा ध्वस्त संरचनाको निर्माण तत्कालको चुनौती बनेको छ ।
प्राधिकरणका प्रवक्ता महतले उद्धारसँगै अब सुरक्षित आवास, जीविकोपार्जनसहितको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा राज्यको ध्यान केन्द्रित हुने बताए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।




















