इटहरीःः हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालकले कागजी कम्पनी खडा गरी हुँदै नभएको कारोबारमा तीन करोड ८२ लाख रुपैयाँ कमिसन भुक्तानी गरेर हिनामिना गरेको खुलेको छ । यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित आठजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सिआइबीका अनुसार कम्पनीका सञ्चालकले कागजी कम्पनी खडा गरी हुँदै नभएको कारोबार देखाएर ठुलो रकम कमिसन भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ । रकम हिनामिना तथा अपचलन भएको निष्कर्षसहित संलग्न व्यक्तिहरूविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
यस प्रकरणमा उपासनासहित सुलभ अग्रवाल, मृदुला सरिया, सञ्जयकुमार गुप्ता, रेणु अग्रवाल, चन्द्रमोहन सुक्रालिया, मनीष कुमार, सिद्धार्थ झुनझुनवालाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूले ट्रस्ट इन्स्योरेन्स ब्रोकर कम्पनी खडा गरी विभिन्न इन्स्योरेन्स कम्पनीबाट सिधै आएका पुनर्बिमासम्बन्धी काम आफ्नै कम्पनीबाट भएको देखाउन फर्जी कागजात तयार गरी कमिसन भुक्तानी दिने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसरी भुक्तानी गरिएको रकम नाटकीय शैलीमा हिमालयन रि–इन्स्योरेन्सकै सञ्चालकले हात पार्ने गरेको अनुसन्धानमा देखिएको छ ।
हिमालयन रि–इन्स्योरेन्सले एसियन लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट व्यवसाय लिएको थियो । ती कम्पनीबाट पाएका व्यवसाय ट्रस्ट इन्स्योरेन्स ब्रोकरबाट पाएको देखाएर ब्रोकरबापत भुक्तानी दिई पब्लिक कम्पनीको पैसा हिनामिना भएको हो ।
त्यो पैसा नाटकीय शैलीमा कम्पनीबाट सो व्यापारिक समूहकै निकट मृदुला सरियाको खातामा लगिएको छ । सरियाले झापामा जग्गा खरिद गर्ने भन्दै बैनाबापत पैसा उनको खातामा हालिएको छ । तर, त्यो नाटक मात्र हुन्छ । बैना गरेको तीन वर्षसम्म पनि कुनै निर्णय हुँदैन ।
उनको खातामा गएलगत्तै त्यो पैसा विभिन्न व्यक्तिलाई दिइन्छ । सरियाको खाताबाट संजय गुप्तालाई दुई करोड ५० लाख, एक कम्पनीलाई एक करोड २० लाख नाम याद नभएका कम्पनीलाई दिएको उनको बयानमा उल्लेख छ । आफ्नी सासूआमा रेणु अग्रवालले भनेअनुसार सो रकम विभिन्न व्यक्तिलाई दिइएको उनको बयान छ । त्यसको ५० लाख रुपैयाँ सुलभ अग्रवालले हात पारेका थिए । उनको मोबिलिस्न ट्रेड इन्स्योरेन्स कम्पनीको खातामा ५० लाख स्थानान्तरण गरिएको थियो । सोही आधारमा यसमा पनि अग्रवाल प्रतिवादी बनेका छन् । यसअघिको सम्पत्ति शुद्धीकरणको मुद्दामा उनी कारागारमै छन् ।
यस मुद्दामा सिआइबीले हिमालयन रि–इन्स्योरेन्सकी तत्कालीन सिइओ उपासनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी बुधबार अदालतको आदेशअनुसार १४ लाख धरौटीमा छुटेकी छिन् । अन्य ६ आरोपी फरार छन् भने सुभल कारागारमै छन् ।
नेपाल बिमा प्राधिकरणको निरीक्षण प्रतिवेदनलाई आधार बनाएर सिआइबीले यस प्रकरणको अनुसन्धान गरेको थियो । प्राधिकरणले नेपाल रि–इस्योरेन्सका तत्कालीन अध्यक्ष, सदस्य र कार्यकारी प्रमुखविरुद्धसमेत बिमा कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । तर, सिआइबीले तत्कालीन सञ्चालकहरूसँग सोधपुछ नै नगरी अनुसन्धान टुंग्याएको छ ।




















