विराटनगरः मोरङ कारागारभित्र जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सर्च अपरेसन सञ्चालन गरिएको छ। सर्चका क्रममा कारागारभित्रबाट प्रहरीले १० लाख ३ हजार १५५ रुपैयाँ नगद र आठवटा रड बरामद गरेको छ।


कारागारभित्र निषेधित तथा शंकास्पद सामग्री रहेको आशंकामा जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा प्रहरीले सर्च अपरेसन सञ्चालन गरेको हो। सर्चका क्रममा कारागार परिसर तथा बन्दीहरू रहने स्थानमा खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम र रड फेला परेको प्रहरीले जनाएको छ।


मोरङ प्रहरीले सर्च अपरेसनका क्रममा १० लाख ३ हजार १५५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। त्यस्तै, आठवटा रडसमेत फेला परेको छ।


कारागारभित्र यति ठूलो परिमाणमा नगद रकम फेला पर्नुका साथै रड बरामद भएपछि घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ। बरामद नगद रकम र रड कसको हो तथा कारागारभित्र कसरी पुगे भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


सर्च अपरेसनका क्रममा बरामद भएका सामग्रीको विवरण संकलन तथा आवश्यक अनुसन्धानको काम भइरहेको छ। कारागारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन तथा निषेधित सामग्रीको प्रवेश रोक्न सर्च अपरेसन सञ्चालन गरिएको प्रशासनले जनाएको छ।


बरामद नगद रकमको स्रोत र रडको प्रयोगका सम्बन्धमा समेत अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।