इटहरीः प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमा इन्जिनियरिङ पृष्ठभूमिका अर्का मन्त्री थपिने भएका छन्। सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने तयारी गरिएको छ।
फागुन २१, २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै साह सुनसरी–४ बाट निर्वाचित भएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
साहको नियुक्तिसँगै वर्तमान मन्त्रिपरिषद्मा इन्जिनियरिङ पृष्ठभूमि भएका अर्का मन्त्री थपिनेछन्। प्रधानमन्त्री बालेन्द्र साह स्वयं पनि इन्जिनियरिङ पृष्ठभूमिका हुन्।
को हुन् दीपककुमार साह ?
५० वर्षीय साह मेकानिकल इन्जिनियर हुन्। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन्। त्यसपछि उनले प्राकृतिक स्रोत विकास विषयमा स्नातकोत्तर गरेका छन्।
जलस्रोत तथा जलविद्युत् क्षेत्रका विज्ञका रूपमा परिचित साहले दुई दशकभन्दा बढी समय यसै क्षेत्रमा बिताएका छन्। २३ वर्षभन्दा लामो व्यावसायिक अनुभवका क्रममा उनले विभिन्न जलविद्युत् परियोजनामा इन्जिनियर, विशेषज्ञ तथा व्यवस्थापकका रूपमा काम गरेको बताइएको छ।
जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण तथा व्यवस्थापनसँगै नीति निर्माण र कार्यान्वयनका क्षेत्रमा समेत साहले अनुभव हासिल गरेका छन्। प्राविधिक क्षेत्रको लामो अनुभव भएका कारण उनको नियुक्तिलाई उद्योग, ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित विषयमा प्राविधिक दृष्टिकोणबाट काम गर्ने अवसरका रूपमा हेरिएको छ।
२६ हजार मतान्तरले कार्कीलाई हराएका थिए
साहले सुनसरी क्षेत्र नं ४ मा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।
निर्वाचनमा साहले ४२ हजार ७७१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कार्कीले १६ हजार ५७८ मत पाएका थिए। साह र कार्कीबीचको मतान्तर २६ हजार १९३ रहेको थियो।
लामो समयदेखि सुनसरीको राजनीतिमा प्रभाव राख्दै आएका कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएपछि साह राष्ट्रिय राजनीतिमा आएका हुन्।
उद्योग मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री साहले नवनियुक्त मन्त्री दीपककुमार साहलाई रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
उद्योग, व्यापार, आपूर्ति व्यवस्था, निजी क्षेत्रसँगको समन्वय तथा लगानी प्रवर्द्धनजस्ता महत्वपूर्ण जिम्मेवारी रहेको मन्त्रालयको नेतृत्वमा प्राविधिक तथा जलस्रोत क्षेत्रमा लामो अनुभव भएका साहको प्रवेशलाई चासोका साथ हेरिएको छ।
विशेषगरी मुलुकमा उद्योग तथा उत्पादन वृद्धि, लगानीको वातावरण निर्माण, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने चुनौतीका बीच साहले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साहलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराउने तयारी छ। शपथसँगै उनले औपचारिक रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका साहको राजनीतिक यात्राले अब प्रशासनिक तथा नीतिगत जिम्मेवारीतर्फ नयाँ मोड लिने भएको छ।




















