काठमाडौँः रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठुलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या रहेको बताएको छ ।
बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जनसङ्ख्या प्रभावित छन्, प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्”, प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
कुन जिल्लामा कति प्रभावित ?
रसुवा
बाढीका कारण रसुवाका चार स्थानीय तहका १६ वटा वडा प्रभावित भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–१, २, ३, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त एक हजार ३०३ घररभवनका एक हजार ४४४ घरधुरीमा रहेका पाँच हजार ७४३ मानिस प्रभावित भएका छन् ।
कालिका गाउँपालिका–१ प्रभावित भएको छ । उक्त पालिकामा क्षतिग्रस्त ११४ भवनका ११९ घरधुरीमा रहेका ४९१ मानिस प्रभावित भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाका–१, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ बाढीका कारण क्षतिग्रस्त ७६ भवनका ७७ घरधुरीमा रहेका ३१३ मानिस प्रभावित भएका छन् ।
उत्तरगया गाउँपालिका–१, २, ३, ४ र ५ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त ६६५ भवनका ६९६ घरधुरीमा रहेका दुई हजार ७१९ मानिस प्रभावित भएका छन् ।
नुवाकोट
नुवाकोटमा चार स्थानीय तहका २१ वटा वडा प्रभावित भएका छन् ।
बेलकोटगढी नगरपालिका–५, ७ र ८ प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यहाँ बाढीका कारण क्षतिग्रस्त एक हजार ८३ भवनका एक हजार १२७ घरधुरीमा रहेका चार हजार ४८३ मानिस प्रभावित भएका छन् ।
विदुर नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका पाँच हजार २२८ भवनका पाँच हजार ९२८ घरधुरीमा रहेका २३ हजार २३० मानिस प्रभावित भएका छन् ।
किस्पाङ गाउँपालिका–५ प्रभावित भएको छ । बाढीका कारण क्षतिग्रस्त यहाँका ९०६ भवनका ९३९ घरधुरीमा रहेका तीन हजार ३८२ मानिस प्रभावित भएका छन् ।
तारकेश्वर गाउँपालिका–२ र ४ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका १७८ भवनका १८५ घरधुरीमा रहेका ६६५ मानिस प्रभावित भएका छन् ।
धादिङ
धादिङ जिल्लामा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० प्रभावित भएका छन् । बाढीका कारण अनुमानित एक हजार ७२३ भवन क्षति भएको करिडोर तथा बफर क्षेत्रमा पर्छन् । जसमा रहेका एक हजार ९०५ घरधुरीमा आठ हजार ६८ मानिस प्रभावित भएका छन् ।
गजुरी गाउँपालिका–१, २, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र एक हजार ५८९ मानिस छन् । गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको क्षेत्रमा ७६६ भवन, ८४० घरधुरी र तीन हजार ३६३ मानिस छन् ।
सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा अनुमानित ७५८ भवन, ७८१ घरधुरी र तीन हजार १७० मानिस छन् ।
गोरखा
गोरखाका दुई स्थानीय तहका १० वटा वडा प्रभावित भएका छन् । गण्डकी गाउँपालिका–१, २, ६, ७ र ८ प्रभावित भएका छन् । यहाँका क्षति पुगेको क्षेत्रमा ५९३ भवन, ६१७ घरधुरी र दुई हजार ४७८ मानिस छन् ।
सहिद लखन गाउँपालिका–३ र ४ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा १३८ भवन, १४६ घरधुरी र ५५१ मानिस छन् ।
चितवन
चितवनमा इच्छाकामना गाउँपालिका–३, ४, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन छन् । जसमा ९१० घरधुरी र चार हजार ९० मानिस प्रभावित भएका छन् । रासस




















