इटहरीः दशनामी समाज इटहरी नगर कमिटी गठनसँगै सामाजिक कार्यमा सक्रिय भएको छ । शनिबार इटहरीको गंगा जमुना पार्टी प्यालेसमा भएको पहिलो नगर अधिवेशनसँगै दशनामी समाज इटहरी नगर कमिटी समाजिक कार्यमा सक्रिय भएको हो ।

दशनामी समाज इटहरीको पहिलो अधिवेशनले कुमार गिरीको अध्यक्षतामा नयाँ कमिटी गठनसँगै एक वर्षभित्रमा मानवीय सेवा र सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको छ । त्यसैगरी जग्गा खरिद गरी दशनामी समाज इटहरीको कार्यालय स्थापनाका लागि भवन बनाउने निर्णय पनि गरिएको छ ।

२ योजनामध्ये पहिले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने नव निर्वाचित दशनामी समाज इटहरीका अध्यक्ष कुमार गिरीले बताए । एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याएर मानवीय सेवामा लगाउने उनले बताए ।

एम्बुलेन्स खरीदका लागि शनिबार नै नवनिर्वाचित नगर अध्यक्ष कुमार गिरीबाट ५० हजार, वरिष्ठ उपाध्यक्ष हीरालाल गिरीबाट १ लाख, कोषाध्यक्ष प्रकाश भारतीबाट ५० हजार र निवर्तमान अध्यक्ष नवीन गिरीबाट १ लाख नगदसमेत प्रदान भएको दशनामी समाज इटहरीका सचिव दीपक भारतीले बताए ।

दशनामी समाजका केन्द्रीय उपाध्यक्ष दिनेशचन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले कुमार गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हिरालाल गिरी, उपाध्यक्षमा नरेश गिरी, सचिवमा दीपक भारती, सह सचिवमा विकास पुरी, कोषाध्यक्षमा प्रकाश भारतीलाई चयन गरेको छ ।

त्यसैगरी, सदस्यमा शम्शेरबहादुर गिरी, मेनुका गिरी, कुमार गिरी, पवित्रादेवी पुरी, गायत्री पुरी, धनप्रसाद गिरी, राजन गिरी, अम्बिका गिरी र दलबहादुर पुरी निर्वाचित भएका छन् ।

दशनामी समाज इटहरी नगर कमिटीमा थप २ जनालाई आगामी बैंठकबाट मनोनित गरिने नव निर्वाचित नगर अध्यक्ष कुमार गिरीले जानकारी दिए ।