इटहरीः  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलाको पानी थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।


महाकुलुङ गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पर्ने हुङ्गा खोलामा शुक्रबार बिहान करिब ७ बजे पहिरो खसेर खोलामा कृत्रिम ड्याम बनेको नेपाल प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो। पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ड्याम बनेको थियो।


पहिरोका कारण खोलाको पानी थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।


solukhumbu

प्रहरी टोलीले हुङ्गा खोलाको तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा विभिन्न जलविद्युत् आयोजनालाई घटनाबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको छ। गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरमा रहेका कामदार र सवारीसाधनलाई समेत सुरक्षित स्थानतर्फ जान सूचित गरिएको प्रहरीले जनाएको छ।


हुङ्गा खोलामा बनेको ड्यामबाट पानी ओभरफ्लो भई एक्कासि ठूलो मात्रामा बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।


प्रहरीका अनुसार हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ। त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई समेत सचेत गराइएको छ।


बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्याममा पानीको सतह भरिएपछि पानी निकास हुन सुरु भएको प्रहरीले जनाएको छ। पानी निकास हुन थाले पनि खोलाको बहाव र पहिरोका कारण उत्पन्न जोखिमको अवस्था अझै निगरानीमा राखिएको छ।


घटनापछि प्रहरी टोलीले स्थलगत अवस्था बुझ्ने तथा सम्भावित जोखिमको मूल्यांकन गर्ने कार्य जारी राखेको छ। प्रहरीले खोलाको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन स्थानीयवासीलाई आग्रह गरेको छ।