झापाः नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा भद्रपुरमा निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन् ।
प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाए । वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण थालिएको २ वर्षभित्रमा अर्थात् विसं २०७४ असार २८ गतेभित्र सभागृहको निर्माण भइसक्नुपर्ने भए पनि सभागृहको ७५ प्रतिशत मात्र काम पूरा भएको बताइएको छ ।
नेता सिटौलाले सो सभागृहको निर्माण पूरा गराउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।