इटहरीः नेपालमा आगामी साता मनसुनी वायु, स्थानीय वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने भएको छ। साताको अन्त्यतिर बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको समेत प्रभाव पर्ने भएकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको आगामी साताको मौसमी सारांशअनुसार साताको सुरुआत र मध्यतिर वर्षा औसतकै आसपास रहने भए पनि अन्त्यतिर औसतभन्दा केही बढी वर्षा हुने सम्भावना छ।
हिमाली क्षेत्रमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर तथा कोशी प्रदेशमा साताको सुरुआत र मध्यतिर केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी प्रदेशमा साताको अन्त्यमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सुरुआत र अन्त्यतिर थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साताभर एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
पहाडी क्षेत्रमा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरुआत र मध्यतिर केही स्थानमा तथा अन्त्यमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा साताभर केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सुरुआत र अन्त्यतिर थोरै तथा मध्यतिर केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशमा साताको सुरुआत र मध्यतिर एक–दुई स्थानमा भारी वर्षा तथा अन्त्यतिर थोरै स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साताभर एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
तराई क्षेत्रमा मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरुआतमा थोरै स्थान, मध्यमा केही स्थान र अन्त्यमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका तराई क्षेत्रमा साताको अन्त्यमा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साताको सुरुआतमा थोरै तथा मध्य र अन्त्यतिर केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिममा साताको अन्त्यमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
यसैगरी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा साताको अन्त्यमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
तापक्रमतर्फ पहाडी र तराई भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने र औसतभन्दा केही बढी नै रहने सम्भावना छ। हिमाली क्षेत्रमा भने तापक्रम हल्का घटेर औसत आसपास रहने अनुमान गरिएको छ।




















