इटहरीः नेपालमा आगामी बिहीबारदेखि पाँच दिनसम्म वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले ८ असोज बिहीबारदेखि १२ असोज सोमबारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने र विशेष गरी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना देखाएका छन् ।
युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट (इसिएमडब्लुएफ), अमेरिकी ग्लोबल फोरकास्ट सिस्टम (जिएफसी) र जर्मन मौसम सेवाको आइकनसहितका विभिन्न मौसम पूर्वानुमान मोडलको प्रक्षेपणमा आगामी साता बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालसम्म आइपुग्ने देखिएको मौसमविद्हरूले बताएका छन् । तर, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा भने मोडलहरूबिच अझै समानता छैन ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलको अध्ययन गर्दा बिहीबारदेखि सोमबारसम्म नेपालमा वर्षाको सम्भावना बलियो देखिएको बताए । ‘न्यूनचापीय प्रणाली बन्दै छ । नेपालसम्म आइपुग्ने प्रक्षेपण रहेकाले भारी वर्षा गराउने सम्भावना देखिन्छ । चार–पाँच दिन वर्षा हुने देखिए पनि दुई दिन भारी वर्षाको प्रबल सम्भावना छ,’ उनले भने, ‘तर, यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित भूभागमा केन्द्रित हुन सक्छ ।’
तर, उपलब्ध मोडलका तथ्यांकसमेत विश्लेषण गर्दै आफ्नै मोडल (गणितीय मौसम पूर्वानुमान) बाट प्रक्षेपण गर्दै आएको नेपाल मौसम विज्ञान विभागले भने आइतबार साँझ विज्ञप्ति जारी गरेर ‘न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने भए पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन,’ भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ । ‘उत्तर अन्डमान सागर तथा आसपासमा न्यूनचापीय क्षेत्र विकसित भइरहेको छ । थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ,’ उनले भने, ‘तर, प्रणाली अझै पूर्ण रूपमा विकसित भइसकेको छैन । त्यही भएर कुन क्षेत्रमा कति पानी पर्छ भनेर अहिले नै यकिन गर्न सकिँदैन । आगामी दिनमा प्रणालीको दिशा र मोडलको प्रक्षेपण परिवर्तन हुन सक्छ ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले न्यूनचापीय प्रणालीको असर कुनै न कुनै रूपमा नेपालमा पर्न सक्ने देखिएको बताए । ‘ओपन सोर्स मोडलले नेपालमा वर्षा देखाएका छन् । भारतको मौसम विभागले पनि उत्तर–पश्चिम भएर आउँछ भनेको छ,’ उनले भने, ‘नेपालमा पानी पर्न सक्छ । तर, कुन दिशा र कति असर पर्न सक्छ भनेर निक्र्योल हुन बाँकी छ । हामी र मौसम विभागबिचको आइतबारको छलफलपछि विज्ञिप्त आएको हो । उहाँहरूले सोमबार साँझ वा मंगलबारसम्म प्रक्षेपण गर्नुहुन्छ ।’
बंगालको खाडीमा बनेको प्रणाली किन महत्वपूर्ण ?
भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र पूर्व–मध्य बंगालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ । यो प्रणाली सोमबार न्यूनचापीय (डिप्रेसन) र मंगलबार अझ बलियो भएर डिप डिप्रेसन (न्यूनचापीय प्रणाली) बन्न सक्ने तथा त्यसपछि दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्ने अनुमान छ ।
यही प्रणालीबाट आउने जलवाष्प र नेपालमा रहेको पश्चिमी वायुमण्डलीय प्रणालीबिच समिश्रण भएमा नेपालमा वर्षा बढ्न सक्ने मौसमविद्हरूको आकलन छ । बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी प्रणालीबिच समिश्रण भएर नेपालतर्फ जलवाष्पको प्रवाह बढेर वर्षा बढ्न सक्ने प्रबल सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले बताए ।
पश्चिम भारतमा मनसुन बाहिरिँदा नेपालतर्फ प्रभाव
यसपटकको मौसमी प्रणालीलाई थप रोचक बनाउने अर्को पक्ष पश्चिमोत्तर भारतबाट मनसुन बाहिरिनु हो । पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीलगायत भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन कमजोर हुँदै जाँदा त्यहाँ सुक्खा हावा विकास भइरहेको मौसमविद्हरूले बताएका छन् ।
यस्तो वायुमण्डलीय अवस्थाले बंगालको खाडीबाट पश्चिमतर्फ अघि बढ्ने न्यूनचापीय प्रणालीको मार्गमा प्रभाव पार्न सक्ने र त्यसको प्रभाव नेपालतर्फ बढ्न सक्ने उनीहरूको विश्लेषण छ । अर्थात्, नेपालमा सिधै चक्रवात आउने भन्ने होइन । बंगालको खाडीमा विकसित प्रणालीले जलवाष्प बोकेर नेपालतर्फ प्रभाव पार्ने र अन्य वायुमण्डलीय प्रणालीसँग मिश्रण हुँदा वर्षा बढ्ने सम्भावना हो ।
‘भारतको पश्चिमबाट मनसुन गइसकेको छ । तर, दक्षिणबाट हावा आइरहेको छ । त्यो पश्चिम जान नपाएर नेपाल आउने देखिन्छ । नेपालमा असर पर्ने मुख्य कारण त्यही हो,’ पोखरेलले भने । बंगालको खाडीको प्रणाली थप विकसित भएर चक्रवातको मापदण्डमा पुगेमा त्यसलाई ‘अर्नब’ नाम दिइनेछ । अर्नब बंगलादेशले प्रस्ताव गरेको नाम हो ।
बाढीपहिरोको जोखिम
असोजको यो समय मनसुन कमजोर हुँदै जाने चरण हो । तर, जमिन अझै भिजेको अवस्थामा रहेकाले छोटो समयमा ठुलो पानी परेमा नदी तथा खोलामा बहाब बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्छ । विशेष गरी प्रणाली सुस्त गतिमा अघि बढेर एउटै क्षेत्रमा पटक–पटक भएमा कुल वर्षाको मात्रा बढ्न सक्छ । काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भने छोटो समयमा ठुलो वर्षा हुँदा सडक तथा तल्लो भूभागमा डुबानको समस्या देखिन सक्छ ।
वर्षाबारे तीनवटा मोडलको प्रक्षेपण
अमेरिकाको ग्लोबल फोरकास्ट सिस्टमः यो मोडलले पूर्वदेखि पश्चिममा वर्षा धेरै हुने देखाएको छ । बिहीरबाट वर्षा सुरु हुने, तर शुक्रबार र शनिबार ठुलो वर्षा गराउने सम्भावना छ ।
युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्टः बागमती, मधेश हुँदै पश्चिममा धेरै पानी पर्ने देखिन्छ । पश्चिम नेपालतिर धेरै वर्षाको सम्भावना छ । लुम्बिनी क्षेत्रसँगै धनगढीमा ठुलो वर्षाको आकलन छ ।
जर्मनीको मौसम सेवाको आइकन मोडल यो मोडलले सुदूरपश्चिममा अलि कम वर्षा देखाएको छ । यसबाहेक सबै क्षेत्रमा ठुलो वर्षा देखाएको छ । धनकुटा क्षेत्रमा ठुलो वर्षा देखाउँछ ।
तर, नेपाल मौसम विज्ञान विभाग भन्छ– न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने भए पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।




















