इटहरीः  सपना देख्न र त्यसलाई साकार पार्न उमेर, पारिवारिक जिम्मेवारी वा सामाजिक सीमाले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै इटहरी–३, तालतलैयाकी लुइसा पुडासैनी ‘मिसेस पूर्वेली आइकन सिजन–३’ को अन्तिम प्रतिस्पर्धामा प्रवेश गरेकी छन्।


दुई सन्तानको लालनपालन, पारिवारिक जिम्मेवारी तथा सामाजिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै आएकी लुइसाको सौन्दर्य तथा प्रतिभाको क्षेत्रमा प्रवेश र अन्तिम चरणसम्मको यात्रालाई प्रेरणादायी रूपमा हेरिएको छ।


परिवारको जिम्मेवारी सम्हाल्दै आफ्ना व्यक्तिगत सपना र चाहनालाई पनि निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिँदै लुइसा प्रतियोगिताको फाइनलसम्म पुगेकी हुन्। संघर्षशील, ऊर्जावान, मृदुभाषी तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित लुइसाले तालतलैया र समग्र इटहरीको प्रतिनिधित्व गर्दै सौन्दर्य, प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रदर्शनको यस मञ्चमा आफ्नो सशक्त उपस्थिति जनाएकी छन्।


विवाह तथा सन्तान प्राप्तिपछि महिलाका व्यक्तिगत चाहना, रुचि र सपनाहरू ओझेलमा पर्ने सामाजिक सोच अझै पनि कतिपय अवस्थामा देखिन्छ। यस्तो अवस्थामा लुइसाले पारिवारिक जिम्मेवारी पूरा गर्दै आफ्ना सपना पछ्याउन सकिने उदाहरण प्रस्तुत गरेकी छन्।


प्रतियोगिताको सुरुआती चरणदेखि नै आफ्नो प्रभावशाली व्यक्तित्व, बौद्धिकता, आत्मविश्वास र सामाजिक चेतनाका कारण उनी निर्णायक मण्डल तथा दर्शकको ध्यान आकर्षित गर्न सफल हुँदै आएकी छन्। प्रतियोगिताका विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा प्रवेश गरेपछि लुइसाको पक्षमा स्थानीयस्तरमा समेत समर्थन बढ्दै गएको छ।

WhatsApp Image 2026-09-23 at 14.51.18

आफ्नो प्रतियोगिताको यात्राबारे लुइसा आफू दुई सन्तानकी आमा भइसकेपछि यस्तो प्रतियोगितामा सहभागी हुनु चुनौतीपूर्ण भए पनि परिवारको साथ र आफ्नो आत्मविश्वासले त्यसलाई सम्भव बनाएको बताउँछिन्।


‘दुई सन्तानकी आमा भइसकेपछि पनि प्रतियोगितामा आउनु मेरा लागि ठूलो चुनौती थियो। तर, आत्मविश्वास र परिवारको साथ भयो भने कुनै पनि उमेरमा नयाँ सुरुआत गर्न सकिन्छ भन्ने सन्देश दिन म यो मञ्चमा उभिएकी हुँ,’ लुइसाले भनिन्।


उनले आफूलाई प्रतियोगितामा अघि बढाउन तालतलैया तथा समग्र इटहरीवासीबाट प्राप्त माया, सद्भाव र विश्वासलाई आफ्नो मुख्य प्रेरणाका रूपमा लिएकी छन्।


‘तालतलैया र समग्र इटहरीवासीको माया र विश्वास नै मेरो सबैभन्दा ठूलो ऊर्जा हो,’ उनले भनिन्।


महिला सशक्तीकरणको सन्देश


लुइसा स्थानीयस्तरमा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी छन्। पारिवारिक जिम्मेवारी पूरा गर्दै सामाजिक क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएकी उनले ‘मिसेस पूर्वेली आइकन’को मञ्चलाई आफ्नो व्यक्तिगत परिचय विस्तार गर्ने अवसरका रूपमा मात्र नभई महिला सशक्तीकरण, आत्मविश्वास र सकारात्मक सोचको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा लिएकी छन्।

WhatsApp Image 2026-09-23 at 14.51.28


उनको यात्राले विवाह तथा मातृत्वपछि पनि महिलाले आफ्ना रुचि, क्षमता र प्रतिभालाई निरन्तरता दिन सक्ने सन्देश दिएको उनका शुभेच्छुकहरूको भनाइ छ। पारिवारिक जीवन र व्यक्तिगत आकांक्षाबीच सन्तुलन कायम गर्दै अघि बढ्न सकिने उदाहरणका रूपमा समेत उनको यात्रालाई लिइएको छ।


लुइसाले महिलाहरूले आफ्नो क्षमता पहिचान गरी अवसर पाएमा जुनसुकै क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्दै आएकी छन्।


उपाधिका लागि भोटिङ अपिल


‘मिसेस पूर्वेली आइकन सिजन–३’को अन्तिम प्रतिस्पर्धा नजिकिँदै गर्दा लुइसालाई उपाधि दिलाउन तालतलैया तथा इटहरी क्षेत्रका स्थानीयवासी, शुभेच्छुक, सामाजिक संघ–संस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले भोटिङ अभियानलाई अघि बढाएका छन्।


प्रतियोगितामा कन्टेस्टेन्ट नम्बर १५ रहेकी लुइसा पुडासैनीलाई भोट गर्न विभिन्न बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी मतदान गर्न सकिने जनाइएको छ।


लुइसाका समर्थकहरूले उनको यात्रालाई सफल बनाउन अधिकतम भोट गर्न स्थानीयवासी तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। तालतलैयाबाट प्रतिनिधित्व गर्दै पूर्वेली सौन्दर्य तथा प्रतिभाको राष्ट्रियस्तरको मञ्चमा पुगेकी लुइसालाई उपाधि दिलाउन स्थानीयस्तरमा समेत उत्साह देखिएको छ।


दुई सन्तानकी आमाका रूपमा पारिवारिक जिम्मेवारीसँगै आफ्ना सपना पछ्याउँदै प्रतियोगिताको अन्तिम चरणसम्म पुगेकी लुइसा अहिले उपाधिका लागि मतको अपेक्षामा छन्। उनको यो यात्रा महिला आत्मविश्वास, निरन्तर प्रयास र अवसरको खोजीका लागि प्रेरणादायी बन्न सक्ने देखिएको छ।