काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान सार्वजनिक गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने जानकारी दिएका हुन्।
विभागका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने जनाइएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।
पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिकका स्थानमा विशेष सतर्कता अपनाउन उनले अनुरोध गरेका छन्।
त्यसैगरी, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत आग्रह गरेका छन्।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।




















