विराटनगरः भारतको नयाँ कर व्यवस्थाले नेपालको जुट निर्यात प्रभावित हुने भएको छ । यसअघि जुट र जुटबाट निर्मित सामानको आयातमा एन्टी डम्पिङ ड्युटी (एडिडी) बढाएको भारतले पछिल्लो समय काउन्टर भ्याली ड्युटी (सिभिडी) पनि लगाइदिएको छ । 


यसले नेपाली जुट उद्योगीले भारत र बङ्गलादेशबाट कच्चा आयात गरेर मालवस्तु उत्पादनपछि निर्यात गर्ने बाटो मात्रै नभई नेपाली किसानको जुट खरिद गरेर प्रशोधनमा समेत अवरोध पुग्ने दाबी गरिएको छ । 


भारतले अघिल्लो साता एडिडीमा ५६ गुणासम्म वृद्धि गरेको थियो । त्यो कार्यान्वयनमा ल्याएको केही दिनमै काउन्टर भ्याली ड्युटीसमेत तोकेको हो । भारतको नियम अनुसार पाँच वर्षका लागि एडिडी तोकिन्थ्यो तर मध्यावधि पुनरवलोकन गर्दै भारतले सन् २०२७ डिसेम्बरमा सकिने म्यादलाई एक वर्षअघि नै नयाँ नीति लगाइदिएको जुट उद्योग सङ्घका उपाध्यक्ष एवं बाबा जुट मिल्सका निर्देशक प्रकाश मुन्दडाले बताए। 


यसैबिच भारतले असोज १३ देखि लागु हुने गरी चर्को दरको सिभिडी पनि लागु गरेको छ । भारतले एडिडी र सिभिडी दुवै करको दर उच्च तोकेको छ, जुन उद्योगले एडिडी छुट पाएका छन्, त्यसलाई सिभिडीमा बाँधेको छ ।  सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२र८३ मा १० अर्ब ८९ करोड मूल्य बराबरका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका छ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बङ्गलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, झापा, उदयपुर, सिराहा र सप्तरीमा जुट खेती अहिले पनि हुँदै आएको छ । पाँच उद्योगमा २० हजार कृषकले उत्पादन गरेको जुट कच्चाका रूपमा भित्रिन्छ भने १५ हजार श्रमिकले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । 


अहिले जुट खेती उठाउने समय चलिरहेको छ । मुन्दडाका अनुसार नेपाली किसानले जुट बेच्ने बेलामा भारतले नेपालका उद्योगमाथि नै अङ्कुश लगाइदिएको छ । यसले गर्दा उद्योगी किसानबाट जुट खरिद नगर्ने मनस्थितिमा पुगेका छन् । भारतमा नेपालबाट जुटको हेसियन फेब्रिकको निर्यात सबैभन्दा बढी हुँदै आएको छ । गत आवको तथ्याङ्कमा सात अर्ब २६ करोडको ८१ लाख मूल्यको निर्यात भएको देखिन्छ । जुन जुटको वस्तु बढी निर्यात हुन्थ्यो, त्यही वस्तुमा भारतले एडिडीको दर बढाइदिएको छ । करिडोरको स्वस्तिक जुट मिल्सले ८.१८ डलर बुझाउँदै आएकोमा अहिले वृद्धि गरेर लागु हुँदा १३२ डलर एडिडी पुगेको छ । 


भारतले तोकेको सिभिडी यो उद्योगका लागि टनको ५४.७७ डलर छ । उही उद्योगले एडिडी १३२ डलर बुझाउने भएका कारण त्योभन्दा कम दरको सिभिडीका प्रावधानमा यसलाई राखिएको छैन तर त्यही उद्योगको बोरामा ३२।२ डलर एडिडी कायम रहेकोमा नयाँ प्रावधानको सिभिडी ९७ डलर कायम हुँदा बढेको प्रावधान लागु गरिने भएको छ । स्वस्तिकले सन् २०२२ यता डोरीमा टनको १५.३६ डलर एडिडी बुझाउँदै आएको थियो । असोज ९ देखि लागु भएको एडिडी ९४ डलर रहेको छ । सिभिडी ५४.७७ मात्रै भएका कारण उद्योगले एडिडीको उच्च दरमा समेटिनुपर्ने छ ।  


दुई वर्षअघि विराटनगरमा खुलेको पशुपतिनाथ जुट मिल्स २०२२ सम्म भारतमा सूचीकृत नभएको हुँदा त्यसले अनरजिस्टर्ड सरह एडिडी बुझाइरहेको थियो । जस अनुसार हेसियन फेब्रिकमा टनको ८.१८ डलर बुझाइरहेको थियो । भारतको अर्थ मन्त्रालयले यस उद्योगलाई हेसियन फेब्रिकमा टनको ६० डलर एडिडी बुझाउनुपर्ने जनाएको छ । 


मङ्गलबार प्रकाशित भारत राजपत्रमा यस उद्योगलाई टनको ५८.५ डलर सिभिडी लगाइएको छ तर सिभिडीको तुलनामा एडिडीको दर बढी ६० डलर भएकाले यही एडिडी बुझाउनुपर्ने छ । यसलाई सिभिडी लाग्ने छैन । 


बाबा जुट मिल्सले हेसियन फेब्रिकमा बुझाउँदै आएको टनको ६.३ डलर एडिडी १० गुनाभन्दा बढीले वृद्धि भएको छ । यस उद्योगलाई उक्त वस्तुमा एडिडी ६४ डलर तोकिएको छ । भारतले यस उद्योगलाई टनको ५८.५ डलर सिभिडी तोकेको छ ।


बाबा जुट मिल्सले सन् २०२२ यता बोरामा टनको ३३.७३ र डोरीमा २६.०७ डलर एडिडी बुझाउँदै आएको थियो । नयाँ सूचनाले यसमा परिवर्तन गर्दै बोरामा टनको १५३ र डोरीमा ५९ डलर कायम गरेको छ । भारतमा जारी सूचनामा बाबाका उत्पादनमा सिभिडी टनको ५८.५ डलर तोकेको छ । बाबाका लागि बोरा र डोरी दुवैमा सिभिडीभन्दा एडिडीको दर उच्च छ । त्यसैले जुन उच्च छ, त्यही बुझाउनुपर्ने हुन्छ । 


यस्तै गोल्छा अर्गनाइजेसन अन्तर्गत आरकेजी समूहका दुई उद्योग छ । रघुपति जुट मिल्स र अरिहन्त मल्टिफाइबर्सलाई हेसियन फेब्रिकमा एडिडी लगाएको थिएन । हेसियन फेब्रिकमा एडिडीको शून्य दर कायम गरिएको थियो । अब दुवै उद्योगले टनको ५६ डलर एडिडी बुझाउनुपर्ने सूचनामा जनाइएको छ ।


तर मङ्गलबार प्रकाशित अर्को सूचनामा दुवै उद्योगलाई सिभिडीको दर टनको ५८.९६ डलर तोकिएको छ ।दुवै उद्योगका लागि एडिडीको दरभन्दा सिभिडीको दर उच्च छ । त्यसैले दुवै उद्योगले हेसियन फेब्रिकमा सिभिडी टनको ५८.९६ डलर बुझाउनुपर्ने छ । यो समाचार आज प्रकाशित गोरखापत्र दैनिकबाट लिइएको हो ।