धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र सरसफाइ कर्मचारीको नाममा जथाभाभी पैसा असुल्नेहरूमाथि कानुनी कारबाही गरिने भएको छ। विगतदेखि नै दशैँ, तिहार लगायतका चाडबाडको समयमा 'हामी सरसफाइ कर्मचारी हौँ' भन्दै समूह बनाएर चाडपर्व खर्चका नाममा पैसा असुल्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले यस्तो चेतावनी दिएको हो।
कार्यालयका अनुसार फोन तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट यस किसिमका थुप्रै जनगुनासोहरू प्राप्त भएपछि धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सरसफाइ कर्मचारीको नाम लिएर जोसुकैले रकम माग गरे पनि त्यस्तो रकम नदिन नगरवासीहरूमा अनुरोध गरेको छ। साथै, आफ्ना घर वरिपरि वा नगर क्षेत्रभित्रका जुनसुकै स्थानमा यस्ता गतिविधिहरू भएमा तुरुन्त तोकिएका सम्पर्क नम्बरहरूमा जानकारी गराउन समेत आग्रह गरिएको छ।

यदि उपमहानगरपालिकाकै कुनै कर्मचारी यस प्रकारको गैरकानुनी गतिविधिमा संलग्न भएको प्रमाणसहित जानकारी प्राप्त भएमा, निजलाई कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा वरिष्ठ वातावरण अधिकृत भेषराज घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ।
सम्पर्कका लागि जिम्मेवार व्यक्तिहरू:
* श्रीयानि बानियाँ (वातावरण इन्जिनियर): ९८६२१८६४५५
* विनोद थापा मगर (सरसफाइ इन्चार्ज): ९८४२०४१०३९




















